जनता टाइम्स

१४ असार २०८१, शुक्रबार २३:०२

नेकपा बिभाजन रोक्ने प्रयाश बिफल बनेको पूर्वराष्ट्रपति भण्डारीको खुलासा, खुल्यो बिभाजनकारी नेताको पोल


काठमाडौं, असार १४ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन नेकपा विभाजन रोक्न आफूले निकै धेरै पहल गरेको तर केही नेताहरुको कारण सफल हुन नसकेको खुलासा गर्नुभएको छ ।

भण्डारी राष्ट्रपतिको भूमिकामा रहेको बेला ०७७ सालमा मा नेकपा विभाजन भएको थियो । उहाँले आफू संबैधानिक भूमिकामा रहेको भएपनि पार्टी बिभाजन हुनुहुन्न भनेर पहल गरेको तर सफल नभएको खुलासा गर्नुभएको हो ।

मदन भण्डारी प्रतिष्ठानले धुलिखेलमा आज गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले देशका लागि आफूले नेकपा विभाजन रोक्न प्रयास गरेको प्रष्ट पार्नुभयो । भण्डारीले तत्कालीन नेकपाको विभाजनका बेलामा आफूलाई निकै ठूलो चिन्ता लागेको पनि जानकारी दिनुभयो ।

‘०७७ को कुरा हो । त्यतिबेला मलाईभन्दा बढी पीडा कसलाई थियो होला ? झण्डै दुई तिहाइ मत ल्याएको पार्टी यदुवंशी भएर झगडा गरेर फुटेर टुक्राटुक्रा हुन्छ भने मलाई एकदमै चिन्ता हुनु स्वाभाविक हो,’ पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो । त्यतिबेला आफूले राजनीति नगरेको तर पार्टी बिभाजन रोक्न सकेसम्म प्रहल गरेको बताउनु भयो । आफूले गरेका गतिविधि राजनीति नभएपनि राजनीति गरेको भनेर आरोप लागेको भन्दै उहाँले दुखेसो राख्नुभयो ।

‘यो राजनीति होइन । यो राष्ट्रका लागि राजनीति गर्नुपर्छ भने पनि गर्नुपर्छ । एजेन्सी खेल्ने । पार्टी नफुटाउ भन्दा राजनीति हुने ? मैले थाहा पाएरै गरेको हुँ’, भण्डारीले रहष्य खोल्नुभयो, ‘पाँच महिनामा महाधिवेशन हुन्छ भनेर पर्खन आग्रह गर्दा पनि नेताहरूले मान्नुभएन ।’

उहाँले नेताहरु यदुबंसी बनेपछि आफ्नो पहलले परिणाम नदिएको बताउनु भयो । ‘तपाईं पूर्वराष्ट्रपति भएर यस्तो भन्नुहुन्छ । हिजो एमालेको नेता हुनुहुन्थ्यो । एमालेचाहिँ किन नमिलाएको भन्ने पर्न सक्ला । कोसिस त मैले धेरै गरेको हो,’ भण्डारीको भनाई थियो ।

पार्टी बिभाजन रोक्न त्यसवेला आफूले खुट्टा समातेर ढोग्न मात्र नसकेको भन्दै नेताहरूले विपक्षसँग साँठगाँठ गरेकाले समस्या आएको खुलासा पनि गर्नुभयो ।
एमाले जब अलि अघि बढ्छ त्यतिबेला ठेस लाग्ने गरेको स्मरण गर्दै ०५० सालमा जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याले राष्ट्रले ठूलो घाटा बेहोरेको निश्कर्ष सुनाउनु भयो ।

उहाँले ०५४ सालमा पनि आफूले पार्टी विभाजन गर्न नहुने अडान लिएको भन्दै आन्तरिक रूपमा समाधान गरेर अघि बढ्न आग्रह गरेको सुनाउनु भयो । ‘पार्टी विभाजन गरेर कलंकको टीका नलगाउनुस भनेको, खरानी हुन तयार छु भने । अहिले खरानी भएका छन । सिंगो दलका नेता हुने मान्छे,’ भण्डारीले भन्नुभयो ।