काठमाडौं, असार १६ । नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । पार्टी स्थापना भएपछि पहिलो पटक हुन लागेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
असार २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने महाधिवेशनमा राजनीतिक प्रतिवेदन समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुनेछ । महाधिवेशनको उदघाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ ।
महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन । महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ । करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ ।
एकीकृत समाजवादीले एमालेमा रहँदा हालसम्म सम्पन्न भएका नौ वटा महाधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको हो । महाधिवेशनको उम्मेदवार बन्नको लागि पनि सो पार्टीले नेकपा एमालेको संगठित सदस्य हुनुपर्ने मापदण्ड बनाएरै योग्यता तोकेको छ । एक कार्यकाल पूरा गरेका केन्द्रीय सदस्यहरुले पदाधिकारीमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ ।
अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न भने पार्टीको स्थायी कमिटीको सदस्य हुन योग्यता पुगेको व्यक्ति हुनुपर्ने मापदण्ड बनाइएको छ । यसैगरी उपाध्यक्ष, उपमहासचिव र सचिव बन्नका लागि पोलिटब्युरोको सदस्य बन्न योग्यता पुगेको व्यक्ति हुनुपर्नेछ ।
केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन कमिटी, केन्द्रीय लेखा परिक्षण कमिदीर केन्द्रीय निर्वाचन कमिटीको सदस्य बन्नका लागि केन्द्रीय कमिटी वा केन्द्रीय निकायहरूको सदस्य भई काम गरेको वा संगठित सदस्य भई कम्तिमा १० वर्ष काम गरेको वा प्रदेश कमिटीको सदस्य भई एक कार्यकाल वा जिल्ला कमिटीको सदस्य भई दुई कार्यकाल काम गरेको व्यक्ति केन्द्रीय सदस्य बन्न योग्य हुने उल्लेख छ ।
महिला, दलित, सीमान्तकृत जनजाति र अपाङ्गता भएकाहरूको हकमा भने संगठित सदस्य भई सात वर्ष काम गरेको र एक कार्यकाल जिल्ला कमिटीमा रही काम गरेको व्यक्ति उम्मेदवार वन्न योग्य हुने उल्लेख गरेका छ । नेकपा एकीकृत समाजवादी एमालेबाट अलग भएको तीन बर्ष पनि पुगेको छैन । तर, अहिले केन्द्रीय पदमा उम्मेदवार बन्नको लागि एमालेबाटै काम गरेकाहरुले मात्रै पाउने भएका हुन ।
प्रतिक्रिया दिनुहोस्