जनता टाइम्स

१७ असार २०८१, सोमबार १७:२९

मधेस कांग्रेसलाई ठूलो झडका : सिंगो टीमसहित एमालेमा फर्किए पूर्वमन्त्री जीतेन्द्र देव


काठमाडौं, असार १७ । पूर्वमन्त्री एवं मधेसका चर्चित नेता जितेन्द्रनारायण देव नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमै फर्कनु भएको छ । पूर्वमन्त्री एवं राष्ट्रियसभाका सांसद देवलाई च्यासस्थित पार्टी केन्द्रीय कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताले पार्टीमा स्वागत गर्नुभएको हो ।

कार्यक्रममा पूर्वमन्त्री देवसँगै रामप्रीत राम, इकबाल अहमद साहलगायतका नेताहरु एमालेमा प्रवेश गर्नुभयो । उहाँहरूलाई अध्यक्ष ओलीले टीका र खादा लगाएर स्वागत गर्नुभयो भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका एमाले नेताहरुले पनि स्वागत गर्नुभयो ।

विष्णुबहादुर मानन्धर नेतृत्वको नेकपा फेडरेशनबाट राजनीति सुरु गर्नुभएका जितेन्द्र देव नेकपा एमालेमा लामो समय केन्द्रीय नेतृत्वमा रहनुभएको थियो । उहाँ २०५४ मा वामदेव गौतम गृहमन्त्री भएका बेला उच्चस्तरीय नागरिकता सुझाव कार्यदलको संयोजक हुनुहुन्थ्यो ।

एमाले विभाजनपछि नेकपा बामदेवको उक्साहटमा मालेतिर लाग्नुभएका देव मधेश पुनः जन आन्दोलनपछि मधेशी जनअधिकार फोरम हुँदै फोरम लोकतान्त्रिकबाट मन्त्री बन्नुभएको थियो । उहाँ संविधानसभाको दोस्रो कार्यकाल सकिएपछि नेपाली कांग्रेसमा प्रवेश गरेर ६ वर्ष राष्ट्रियसभा सदस्य हुनुुभयो । करिब १७ वर्षपछि देव पुनः एमालेमा फर्किनु भएको हो । उहाँ एमाले भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायु संघ) मा केपी ओलीपछि अध्यक्ष बन्नुभएका केशव स्थापितको टीममा उपाध्यक्ष हुनुहुन्थ्यो ।

एमाले पंक्तिमा बौद्धिक युवाको रुपमा परिचय बनाउनु भएका देवलाई पार्टीले भूमिकाको कदर गर्दै नागरिकता अनुगमन तथा कार्यमूल्यांकन समितिको अध्यक्ष बनाएको थियो । ०५४ मा नेपालगञ्जमा आयोजित छैटौं राष्ट्रिय महाधिवेशनबाट देव केन्द्रीय कमिटी सदस्य निर्वाचित हुनुभएको थियो ।

एमाले प्रवेश गरेपछि देवले पुराना वामपन्थी दिनहरुको सम्झना गर्नुभयो । उहाँले अनेक घेरावन्दीका बीच पार्टीलाई शक्तिशाली र आत्मविश्वासी बनाएको भन्दै उनले अध्यक्ष केपी ओलीलाई धन्यवाद दिनुभयो । पार्टी छाडेर अन्यत्र गएकोमा नेता देवले आत्मालोचना समेत गर्नुभएको छ ।