काठमाडौं, असार १७ । जिल्ला अदालत सर्लाहीले तपश्वी रामबहादुर बम्जनलाई बाल यौन दुराचार गरेको कसूरमा १० वर्ष कैद सजाय सुनाएको छ ।
जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो । यसअघि न्यायाधीश भण्डारीको इजलासले असार १० गते बम्जनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आजका लागि पेशी तोकिएको थियो ।
बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत २०८० पुस २४ गते काठमाडौंबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई २०७६ सालदेखि नै खोजी गरिरहे पनि २०८० सालमा मात्रै पक्राउ परेका थिए । सर्लाही अदालतले २०८० पुस २७ गते बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ । उनीहरु सबैलाई सिन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान छ । सर्लाहीस्थित आश्रममा बाल यौन दुराचार भएको जाहेरी थियो । महिला अधिकारकर्मीको सहयोगमा २०७६ भदौ ३० गते ललितपुरमा पत्रकार सम्मेलन गरी एक १८ वर्षीया युवतीले बम्जनले पटक पटक बलात्कार गरेको खुलासा गरेकी थिइन् । त्यसपछि प्रहरीकहाँ पनि यो विषयमा उजुरी परेको थियो ।
प्रहरीले २०७६ पुसमा सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँमा रहेको तोड्के जंगलमा छापा हानेको थियो । जहाँ बेपत्तामध्ये सञ्चलालको हत्या भएको हुनसक्ने आशंकामा छ । तर, प्रहरीले प्रमाण फेला पार्न सकेन ।
करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटिएपछि उत्खनन् गर्दा ९ वटा नुनको प्याकेट पनि भेटिएको थियो, जुन शव गलाउन प्रयोग गरेको हुनसक्ने अनुमान थियो । बम्जन जोडिएको अरु मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । जिल्ला अदालतले बम्जनमाथि यो अभियोग प्रमाणित भएको ठहर गरी सजाय निर्धारण गरेको हो ।
प्रतिक्रिया दिनुहोस्