जनता टाइम्स

१८ असार २०८१, मंगलवार ०६:५४

कांग्रेस–एमाले सत्ता सहकार्य : यस्तो छ संबिधान संशोधनदेखि मन्त्रालय र प्रदेशको नेतृत्वसम्म बाँडफाँटको सहमति


आधा–आधा कार्यकाल प्रधानमन्त्री चलाउने, सुरुमा गठन हुने केपी ओली नेतृत्वको सरकारमा एमालेले अर्थसहित नौवटा र गृहसहित कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएको छ ।

गणेश बस्नेत/काठमाडौं । प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यको औपचारिक रुपमा सहमति भएको छ । सोमवार राती कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलवार बिहान १२ः ५६ बजे सहमतिपत्रमा हस्ताक्षर गरी औपचारिक रुपमा सत्ता सहकार्यको सहमति गर्नुभएको हो ।

सहमतिअनुसार संसद्को बाँकी कार्यकाल दुई दलले आधा–आधा समय सरकारको नेतृत्व गर्नेछन् । सुरुमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नुहुनेछ । देउवा नेतृत्वको सरकारले निर्वाचन गराउने दुई दलको सहमति रहेको छ । एक सातादेखि चलेको छलफललाई शनिबारदेखि शीर्ष र दोस्रो तहका नेताहरूका शृंंखलाबद्ध बैठकपछि मंगलवार बिहान १२ः५६ बजे दुई दलबीच नयाँ गठबन्धन बनाउने सहमति जुटेको हो ।

दुई दलबीच मन्त्रालय बाँडफाँटदेखि प्रदेश सरकारको बिषयमा समेत सहमति भएको छ । यस्तै संविधान संशोधन गर्दै निर्वाचन प्रणाली परिवर्तन गर्ने विषयमा समेत सहमति भएको छ । सहमतिअनुसार तीन तीन वटा प्रदेशमा सरकारको नेतृत्व दुई दलले गर्नेछन भने मधेस प्रदेशमा मधेस केन्द्रित दललाई नेतृत्व दिइने छ । एमालेले कोशी, लुम्बिनी र कर्णाली तथा कांग्रेसले सुदुरपश्चिम, गण्डकी र बागमतीको नेतृत्व लिनेछ ।

सहमति पत्र सार्वजनिक भइनसके पनि दुई दलबीच संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने, प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिटसंख्याबारे पुनर्विचार गर्ने, पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने, संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने, प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचन प्रणाली मात्रै राख्ने, संसदका साना दलहरू लोसपा र राप्रपालाई पनि सरकारमा ल्याउन पहल गर्ने सहमति भएको छ ।

शनिबार बालकोट बैठकमा कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई सत्ता सहकार्यको औपचारिक प्रस्ताव गर्नुभएको थियो । त्यसयताका दुई दिनमा कांग्रेस र एमाले नयाँ सत्तागठबन्धन गर्न र ओलीको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो । सहमतिअनुसार ओलीको नेतृत्वमा बन्ने सरकारमा एमालेले अर्थसहित नौवटा र गृहसहित कांग्रेसले १० वटा मन्त्रालय लिने छ ।

दुई दलबीचको सहमतिलगत्तै मध्यरातमा कांग्रेस र एमालेका नेताहरू शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन । शीतलनिवास स्रोतका अनुसार धारा ७६(२) अनुसार नयाँ सरकार गठनको आह्वानका लागि परामर्श गर्न नेताहरू शीतलनिवास पुगेका हुन ।

धारा ७६(३) अनुसार आह्वान भएमा संसद्को ठूलो दल कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्था रहन्छ । जसकारण एमालेले धारा ७६(२) अनुसार सरकार आह्वानको सुनिश्चितता खोजेपछि परामर्शका लागि नेताहरू शीतलनिवास पुगेका हुन । कांग्रेसबाट सभापति देउवा, प्रमुख सचेतक रमेश लेखक, नेता ज्ञानेन्द्र कार्की र आरजु राणा देउवा तथा एमालेबाट अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंखर पोखरेल राष्ट्रपतिसँगको भेटमा सहभागी हुनुभएको थियो ।