जनता टाइम्स

१९ असार २०८१, बुधबार ०२:३८

सञ्चालक आफैले आफ्नै पसल चोरी गर्न लगाएपछि


चितवन, असार १९ । चितवनमा बिमाको रकम लिन आफै अपराधमा संलग्न हुने गरेको तथ्य फेला परेको छ । कालिका नगरपालिका– ६ खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसलमा भएको लुटपाटको घटनाको अनुसन्धानपछि प्रहरीले यस्तो तथ्य फेला पारेको हो ।

सो सुनचाँदी पसलमा असार १ गते राति लुटपाट भएको घटना सार्वजनिक भएका थियो । सञ्चालक विनोद विश्वकर्माले रिपोर्ट गरेअनुसार सो क्रममा चाँदी ३३ तोला र सुन १ किलो ७०० ग्राम लुटेर लगेका थिए । घटनाको अनुसन्धानको क्रममा प्रहरीले लुटिएको भनिएको ४४ तोला सञ्चालक विश्वकर्मालाई बुझायो । तर, प्रहरी चितवनमा यति ठूलो लुटपाटका घटना हुनुको पछाडिको सुरक्षाको प्रश्न आउनसक्ने कुराले सचेत बन्यो ।

चितवन प्रहरीलाई सुरुदेखि नै शंकित बनायो । त्यसपछि प्रहरीको अनुसन्धान टोलीले केन्द्रीय अनुसन्धान ब्युरोबाट सहयोग माग्यो । त्यसपछि ठूलो परिणाममा सुन र चाँदी चोरी भएको भनिएको घटनाको सूक्ष्म अनुसन्धान थालियो । घटनाको प्रकृति हेर्दा प्रहरीको अनुसन्धान सञ्चालकमाथि शंका गर्नुपर्ने ठाउँमा पुगेपछि अनुसन्धान टोलीले धनानन्द नाम दिएर सूक्ष्म अनुसन्धान थालेको थियो । अन्ततः प्रहरीको अनुसन्धान टोलीले घटनाको १८औं दिन सुन पसल लुटपाट सञ्चालक स्वयंको योजनामा घटाइएको तथ्य पत्ता लगायो ।

प्रहरीले मंगलबारसम्म उक्त लुटपाट भएको घटनाको अनुसन्धान गरेर पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलवार नै पत्रकार सम्मेलन गरी विनोद सुनचाँदी पसल सञ्चालक विनोद सुनारसहित पाँच जनालाई सार्वजनिक गरेको छ । चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार विनोद सुनचाँदी पसलले सिद्धार्थ बीमामा दुई करोड २० लाख रुपैयाँको बीमा गरेको छ । आर्थिक व्यवहार केही बिग्रिएको अवस्थामा विनोद आफैंले सुनचाँदी पसल डकैती गराएर बीमाबाट रकम असुल गर्ने योजना बनाएको पाइएको छ ।

प्रहरीको अनुसन्धान विवरणअनुसार सुनारले पूर्णबहादुर विश्वकर्मालाई ५० हजार रुपैयाँ रकम दिएर लुटपाट गर्न सम्झौता गरेका थिए । उनकै योजनाअनुसार असार १ गते राति विश्वकर्मा र पवनकुमार पासवान मोटरसाइकलमा आएर घटना घटाए । उनीहरुलाई लुटपाटमा पसलका म्यानेजर विजय विश्वकर्माले सहयोग गरेको पाइएको छ ।

प्रहरीले बिनोदसँगै चोरीमा संलग्न ५० वर्षका पूर्णबहादुर विश्वकर्मा १८ वर्षका पवनकुमार पासवान र अञ्जना पुडासैनी केसीलाई पक्राउ गरेको छ । उनीहरुलाई लुटपाट तथा चोरी अभियोगमा प्रहरीले अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।