जनता टाइम्स

१९ असार २०८१, बुधबार १८:४८

डा. मुकुल ढकालको प्रस्ताव : रास्वपालाई रबिको पार्टी होइन, पार्टीको सभापति रबिलाई बनाऔं


काठमाडौं, असार १९ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले पार्टीलाई रबि लामिछानेको बिर्ताको रुपमा अघि बढाउन नसकिने निश्कर्ष सुनाउनु भएको छ ।

आज बसेको केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव राख्दै ढकालले लामिछानेलाई पार्टीको सभापति बनाउनु पर्ने तर पार्टीलाई रबि लामिछानेको बनाउन नसकिने बटमलाइन सुनाउनु भएको हो । केन्द्रीय समितिमा महामन्त्री ढकालले राख्नुभएको प्रस्तावमा भनिएको छ, ‘रास्वपालाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि रवि लामिछानेलाई नै बनाऔं तर पार्टीलाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं ।’

ढकालले केन्द्रीय समिति नै सर्वाेच्च निकालय भएको भन्दै ठोकश निर्णय लिनुपर्ने प्रस्ताव पनि गर्नुभएको छ । ‘आजका दिनसम्म पार्टीको सर्वोच्च निकाय केन्द्रीय समिति नै भएकाले यही केन्द्रीय समितिले निर्णय गरिदेओस, आगामी कार्यदिशा निर्माणका लागी हामी घोटिऔं । आशाको दियोलाई फेरि बालौं । राष्ट्रिय स्वतन्त्र पार्टीलाई अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं,’ ढकालको प्रस्तावमा भनिएको छ ।

आज बिहानैदेखि बसिरहेको बैठकमा रास्वपा केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालको प्रतिवेदन पेश भएको छ । त्यसमाथि केन्द्रीय सदस्यहरुको धारणा राख्ने काम भइरहेको छ ।
ढकालले आफ्नो प्रतिवेदन सार्वजनिक गर्न र बैठक लाइभ गर्नुपर्ने माग राख्दै आज कालो टेप मुखमा बाँधेर बिरोध जनाउनु भएको छ ।

‘गुप्तबास नबस्ने, अब सबै प्रक्रिया लाइभ गरौँ भन्नुहुन्छ भने पनि म तयार छु । तर, त्यस बासले निर्धारण गरोस्, अब के लाइभ गर्ने , के नगर्ने ? यसको विधि के ? गुप्तबास बस्ने भए पनि बसौं, खुल्लाबास बस्ने भए पनि बसौं । पार्टीका लागि एक पटक घोत्लिएर सँगै बसौं । सार्वजनिकरूपमा नै पार्टी निर्माणको प्रक्रिया जनतामा प्रस्तुत गरौं,’ ढकालको प्रस्तावमा भनिएको छ ।

ढकालले आफ्ना व्यक्तिगत जीवनलाई समेत विवादको विषय बनाइएको भन्दै आपत्ति जनाउनु भएको छ । आफ्नो विवाहलगायतका जीवनका अन्य कुरा पनि पार्टीले गरेको निर्णयअनुसार गर्न आफू तयार रहेको महामन्त्री ढकालको भनाइ छ ।

‘गल्फ्रेन्डको कुरा । मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् । केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु । वा आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ । तर निर्णय गरिदेओस् । जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यही दिन गरिदिनुहोस,’ महामन्त्री ढकालको प्रस्तावमा भनिएको छ ।

महामन्त्री ढकालले आफूले सहे पनि गलफ्रेन्डको कुरा गरेर कसैको सम्मान नभएको पनि बताउनु भएको छ ।

‘देश निर्माण र देश निर्माणका लागि पार्टी चाहिन्छ भनेर पार्टी निर्माणका लागि जीवन नै समर्पण गरेको छु, गल्फ्रेन्डको कुरा गरेर, मलाई त केही छैन, म सहुँला तर ती नारीप्रति सम्मान त गरिदिएको भए हुन्थ्यो । म जान पाइनँ, एक जना नारी जाने ? मेरो साटो भनेर रडाको मच्याउँदा पनि, सायद मुकुल ढकालसँग जोडिएको विषय हो, कहाँबाट आउँछ मानव अधिकारका कुरा, महिला अधिकारका कुरा । मेरो जीवनको विवाह बाहेकका पनि बाँकी सबै कुरा पार्टीले निर्धारण गरिदेओस,’ ढकालको प्रस्तावमा भनिएको छ ।