कैलाली, असार २० । नेकपा एमालेले नेकपा एकीकृत समाजवादी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको बैठकले मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको हो ।
बिहीबार दिउँसो संसदीय दलको बैठकबाट समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामा दिने निर्णय भएको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिनुभयो । उहाँले आज नै मुख्यमन्त्रीलाई भेटेर समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामाको पत्र बुझाउने बताउनु भयो । एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै मुख्यमन्त्रीसोडारी अल्पमतमा पर्नुभएको छ ।
एमालेबाट सोडारी नेतृत्वको प्रदेश सरकारमा तीन जना मन्त्री छन् । सुरेन्द्रबहादुर पाल आर्थिक मामिला, विरबहादुर थापा वन वातावरण तथा सहकारी र हीरा सार्की आन्तरिक मामिलामन्त्री हुनुहुन्छ । उहाँहरु मन्त्री नियुक्त भएको एक महिना पनि पुगेको छैन ।
जेठ २८ गते मन्त्री नियुक्त हुनुभएका तीन जना मन्त्रीमध्ये पाललाई मात्रै मन्त्रालय तोकिएको छ । त्यसबेला बिनाविभागीय मन्त्री नियुक्त भएका थापा र सार्कीलाई असार १६ गते मात्रै विभागीय जिम्मेवारी पाउनु भएको थियो ।
एमाले, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी (रञ्जिता श्रेष्ठ समूह) र एक जना स्वतन्त्र सांसदको समर्थनमा वैशाख ६ गते सोडारी मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र १ जना स्वतन्त्र सांसदले जेठ ३ गते विश्वासको मत दिएका थिए ।
एमालेको समर्थन फिर्तासँगै सुदुरपश्चिम सरकार ढल्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्