काठमाडौं, असार २० । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल नै दोहोरिनु भएको छ । काठमाडौंमा जारी दसौँ राष्ट्रिय महाधिवेशनबाट नेपाललाई अध्यक्ष र भुसाललाई महासचिवमा सर्वसम्मत चयन गरेको हो ।
महाधिवेशनको पार्टीको सम्मानित नेतामा झलनाथ खनाललाई निर्वाचित गरेको छ । अन्य पदहरुमा भने छलफल चलिरहेको छ । पार्टीको अध्यक्षका लागि नेपाल र भुसाल दुवैले दाबी गर्दै आए पनि अन्तिम समयमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नु उपयुक्त हुने भन्दै उम्मेदवारको मनोनयन दर्ता रोकिएको थियो । अन्ततः महाधिवेशनले अध्यक्षमा नेपाल र महासचिवमा भुसाललाई दोहोर्याएको हो ।
मनोनयन रोकेर सर्वसम्मत नेतृत्व घोषणा गरेपछि अव अध्यक्ष र महासचिवले भागबण्डामा पदाधिकारी र केन्द्रीय सदस्य तोकिने भएको छ । महाधिवेशनले २१ पदाधिकारीसहित २९९ केन्द्रीय कमिटी चयन गर्नेछ ।
केन्द्रीय कमिटीमा प्रत्येक जिल्लाबाट १ जना, प्रदेशअन्तर्गतका २५ सय संगठित सदस्य बराबर १ जनाका दरले थप हुने, समावेशी क्षेत्रबाट (महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, थारू, अल्पसंख्यक र अपाङ्गता) ७० जना र पदाधिकारीसहितको खुल्ला क्षेत्र ८० जना चयन हुने जनाइएको छ ।
त्यस्तै, भूगोललगायत विभिन्न कार्यक्षेत्र, समावेशी र खुला निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षणको व्यवस्था छ । महिलालगायतका सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहलाई आरक्षण गर्ने प्रावधन राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्