काठमाडौं, असार २१ । नेकपा एमालेबाट बिभाजन भई बनेको नेकपा एकीकृत समाजवादीको पहिलो महाधिवेशनमै कार्यकर्ताको अधिकार अपहरणमा परेको छ ।
सत्ताका लागि पार्टी बिभाजन गरे पनि बिद्रोहको नारा घन्काइएको नेकपा एसको महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले महाधिवेशन प्रतिनिधिको अधिकार अपहरण गरेर आफै नेता तोक्ने अभ्याश गरी जनवादको गर्भमै हत्या गर्नुभएको हो ।
महाधिवेशनमा तीन नेता सर्वसम्मत घोषणा गरेपछि अन्य पद हामी तोक्ने हो भन्दै प्रतिनिधिको अधिकार खोसिएको हो । लामो रस्साकस्सीपछि नेकपा एकीकृत समाजवादीका तीन महत्वपूर्ण पद अध्यक्ष, महासचिव र सम्मानित नेता सर्वसम्मत चयन भएको थियो ।
असार १६ गते उदघाटन भएको १० औँ राष्ट्रिय महाधिवेशनमार्फत बिहीबार नेताहरूबिच आन्तरिक सहमति गरेर महाधिवेशन हलबाट अध्यक्षमा माधव नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएको घोषणा गरिएको थियो ।
स्रोतले जनताटाइम्स डटकमसलाई दिएको जानकारीअनुसार आफूहरुको आलोचना गर्ने वा फरक मत राख्नेलाई केन्द्रीय कमिटीमा आउनै नदिन माधव र घनश्यामले यस्तो काम गर्नुभएको हो । यो काममा सम्मानित नेता झलनाथको समेत साथ भएपछि सुनियोजित रुपमै प्रतिनिधिको अधिकार खोसेर महाधिवेशनलाई भारदारी सभामा परिणत गरिएको हो ।
यसअघि पनि नेपाल, खनाल र भुसाल सोही रहनुभएको थियो । महाधिवेशनमार्फत पनि पुरानै पद हत्याएपछि तीनै जना नेताले प्रतिनिधिको अधिकार खोसेका हुन । कार्यकर्तालाई दास ठान्ने सो पार्टीका नेताका कारण उम्मेद्वारी मनोनयन रोकेर यी सवकाम गरिएको थियो ।
बुधबार बेलुका चार वटा दस्ताबेज पारित भएसँगै नयाँ नेतृत्व सर्वसम्मत गर्न नेताहरू छलफलमा जुटे पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । लगभग २४ घण्टाको रस्साकस्सी र छलफलपछि बिहीवार २१ पदाधिकारीमध्ये ३ पदमा सहमति जुटे पनि बाँकी १८ पदाधिकारी र केन्द्रीय सदस्यमा तीन जनाबीच नै सहमति जुट्न नसकेको हो । बाँकी पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, उपमहासचिव ४ र सचिव ७ गरी १८ पदमा सहमति जुटाउनुपर्नेछ ।
नेतृत्वमा आकांक्षी र तीन नेताले रोजेका मान्छेबीच तालमेल हुन नसक्दा सो पार्टीमा नेताहरूको व्यवस्थापन कठिन भएको बताइएको छ । अध्यक्ष र महासचिवमा सहमति जुटे पनि वरिष्ठ उपाध्यक्ष, उपमहासचिव र सचिवका लागि नयाँ–पुराना नेता आकांक्षी छन । तर सीमित पद हुँदा नेताहरूलाई व्यवस्थापन गर्न कठिन भएको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार खासगरी वरिष्ठ उपाध्यक्षमा कसलाई ल्याउन भन्नेमा नेताहरूबीच सहमति जुट्न सकेको छैन । उक्त पदमा नेता राजेन्द्र पाण्डे, बेदुराम भुसाल, प्रकाश ज्वालालगायतका नेताको दावी छ । यस्तै महासचिवमा दाबी गर्नुभएका जगन्नाथ खतिवडा, गंगालाल तुलाधर, जीवनराम श्रेष्ठ लगायतका नेताहरू उपमहासचिवतिर दावा गर्नुपरेको छ भने रामकुमारी झाँक्रीलाई उपमहासचिव या उपाध्यक्ष बनाउने तयारी भएको छ ।
स्रोतका अनुसार ती पद र केन्द्रीय सदस्यहरूमा तीन नेताबीच सहमति जुटाएर आज बिहान हलमा पढेर सुनाउने र महाधिवेशलाई भारदारी सभा प्रमाणित गर्ने तीन नेताको योजना छ । नेकपा एकीकृत समाजवादीले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने छ । जसमा २१ पदाधिकारीसमेत जोडिनेछन् ।
प्रतिक्रिया दिनुहोस्