जनता टाइम्स

२१ असार २०८१, शुक्रबार १७:५२

भातरीय नागरिकको फ्याटमा छापा मारी प्रहरीले बरामद गर्यो सुन गाल्ने मेसिन र ५० लाख नगद


ललितपुर, असार २१ । ललितपुरको ताल्छीखेलस्थित एक फ्याटमा छापा मारी प्रहरीले सुन गाल्ने मेसिन र ५० लाख रुपैयाँ नगदसहित पाँच जनालाई पक्राउ गरेको छ । ललितपुर प्रहरीले भारतीय नागरिकले भाडामा लिएको फ्ल्याटमा छापा मार्दा सो सुन गाल्ने मेसिन र सो परिमाणको नगद फेला परेको हो ।

प्रहरीले घटनास्थलबाट भारतको महाराष्ट्र आडवारी थाना घर भइ ललितपुरको ताल्छिखेल बस्दै आएका २८ वर्षीय युवराज विभुते, सोही ठाउँका भारतीय नागरिक २० वर्षीय विक्रम यलवर, १८ वर्षीय भारतीय नागरिक अभिषेख विभुते, भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवाका २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुरकै महालक्ष्मी नगरपालिका–८ का २० वर्षीय यसवन्त सुनारलाई पक्राउ गरेको ।

उनीहरूबाट १६९ ग्राम ९७० मिलिग्राम सुन, २४७ ग्राम २५० मिलिग्राम चाँदी, ५० लाख ४ हजार ७३० नगद, डिजिटल तराजु, हार्ड डिस्क, सुन पगाल्ने मेसिन, बैंकमा नगद जम्मा गरेको भौचर बरामद भएको छ ।

ललितपुर महानगरपालिका–१४ स्थित एक निर्माणाधीन घरमा शंकास्पद कारोबार भइरहेको भन्ने सूचना पाएपछि तातदोवाटो प्रहरी वृत्तको टोलीले छापा मारेको थियो । संकास्पद स्थानमा पक्राउ परेका सवैलाई नियन्त्रणमा लिएर भारतीय नागरिक युवराजको फ्ल्याटमा खानतलासी गरेको थियो ।

सो क्रममा ५० लाख नगदसहित सुनसमेत बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइने छ ।