काठमाडौं, असार २१ । सरकारले काम सम्पन्न गरेका निर्माण ब्यवसायीहरुको ६० अर्ब भुक्तानी दिन बाँकी रहेको पाइएको छ । आर्थिक बर्ष सकिने अन्तिम महिना अर्थात असारको तेस्रो सातामा पुग्दासमेत सरकारले सरकारले निर्माण ब्यवसायीको ६० अर्ब भुक्तानी गर्न बाँकी रहेको हो ।
नेपाल निर्माण व्यवसायी महासंघले आर्थिक वर्ष समाप्त हुन लाग्दा पनि सरकारबाट ६० अर्ब रकम भुक्तानी हुन बाँकी रहेको र सरकारले भुक्तानीका लागि पहल नगरेको बताएको छ ।काठमाडौंमा आज पत्रकार सम्मेलन गरी महासंघले निर्माण व्यवसायीहरूको कुल ६० अर्ब रुपैयाँ भुक्तान हुन बाँकी रहेपनि त्यसतर्फ राज्यले खासै ध्यान नदिएको बताएको हो ।
महासंघका अध्यक्ष रवि सिंहका अनुसार सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन जारी भए पश्चात म्याद थप भएपछि राज्यले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व करिब ४० अर्ब रुपैयाँ र चालू आयोजनाहरूको करिब २० अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा निर्माणसँग सम्बन्धी कामका साथै अन्य सम्बन्धित क्षेत्रमा प्रभाव देखिएको सिंहले बताउनु भयो ।
अध्यक्ष सिंहले राज्यले दिनुपर्ने कुनै पनि सहुलियत नदिई उल्टै व्यवसायीहरूलाई कालोसूची राखेको भन्दै कडा आपत्तिसमेत जनाउनु भयो । निर्माण व्यवसायीहरूको रकम भुक्तान गरिदिने प्रतिबद्धता जनाएको अवस्थामा त्यस बमोजिम तत्काल रकम भुक्तानीको व्यवस्था नभएपछि व्यवसायीहरू हतोत्साहित हुन पुगेको निश्कर्ष पनि महासंघले सुनाएको छ ।
महासंघले आवश्यक बजेट रकमान्तर एवं थप गरी यही असार मसान्तभित्रै अनिवार्य रूपमा सबै निर्माण कार्यको भुक्तानीको व्यवस्था गर्न मागसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्