काठमाडौं, असार २२ । नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चित बनेको छ । पत्रकार महासंघको निर्वाचन असार २२ गते अर्थात आजका लागि तोकिएको थियो ।
चुनाव गर्ने एक दिन अघि शुक्रवार साँझ सूचना जारी गरी निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार साँझ सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जनाएको हो ।
‘निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिप्रतिवद्ध रहँदा रहँदै पनि निर्वाचनका लागि सहज बातावरण बन्न नसकेको हुँदा मिति २०८१/३/२२ मा निर्धारित मतदानको कार्यक्रम सम्पन्न हुन नसक्ने ब्यहोरा अवगत गराइन्छ, समितिको सूचनामा भनिएको छ, ‘नेपाल पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएका बखत निर्वाचन कार्यक्रम अघि बढाउने ब्यहोरा अनुरोध गरिन्छ ।’
गत बैशाख २२ गते सम्पन्न नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनबाटै जेठ २६ गतेका लागि तोकिएको निर्वाचन सदस्यता विवादका कारण पटक पटक स्थगित हुँदै आएको छ । पछिल्लो पटक निर्वाचन समितिको सूचनाले निर्वाचन नै अनिश्चित बनेको छ ।
निर्वाचन समितिका संयोजक प्रा. प्राध्यापक चिरञ्जीवि खनाल तथा सदस्यहरुमा भक्तिराम घिमिरे, अरुण पौडेल, बिष्णुमाया भुसाल, शालिकराम सापकोटा, कपिलचन्द्र पोखरेल र देवेन्द्र झा रहनुभएको छ । शुक्रवार जारी गरिएको सूचनामा भक्ति घिमिरे र देवेन्द्र झाले भने हस्ताक्षर गर्नुभएको छैन ।
संयोजकसहित कुल ७ सदस्यीय समितिमा ५ जनाले हस्ताक्षर गरी निर्वाचन कार्यक्रम अनिश्चतकालका लागि स्थगित गरी पत्रकार महासंघको केन्द्रीय समितिले तोकेको मितिमा हुने घोषणा गरिएको हो । समितिको यो सूचनासँगै अव महासंघको केन्द्रीय समितिले निर्वाचनबारे निर्णय गर्नुपर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्