जनकपुर, असार २२ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेकपा माओवादी केन्द्रसहित चार दलका मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।
मुख्यमन्त्री सिंहले आज सरकारमा सहभागी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको हो ।
मुख्यमन्त्री सिंहले माओवादी केन्द्रबाट अर्थमन्त्री बन्नुभएका भरतप्रसाद साह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, नेकपा एकीकृत समाजवादीका कृषिमन्त्री गोविन्द न्यौपाने र खानेपानी मन्त्री बेची लुङ्गेली, नेपाल संघीय समाजवादी पार्टीबाट गृहमन्त्री बन्नुभएकी विमला अन्सारी र नेपाल नागरिक उनमुक्ति पार्टीबाट यातायात मन्त्री उर्मिला सिंहलाई बर्खास्त गर्नुभएको छ ।
बर्खास्तीको पत्र मुख्यमन्त्री सिंहले प्रदेश प्रमुखको कार्यालयलाई बुझाउनु भएको छ । मुख्यमन्त्री सिंहले शनिबार दिउँसो प्रदेशसभामा विश्वासको मत लिन लाग्नुभएको छ । त्यसअघि मुख्यमन्त्री सिंहले चार दलका मन्त्रीलाई बर्खास्त गर्नुभएको हो ।
मुख्यमन्त्री सिंहलाई कांग्रेस, लोसपा र एमालेले विश्वासको मत दिएर सरकारमा सामेल हुने भएका छन । मुख्यमन्त्री सिंह जनमत पार्टीका नेता हुनुहुन्छ । केन्द्रमा माओवादीतिर ढल्किएको देखिए पनि प्रदेशमा भने एमाले कांग्रेस गठबन्धनमा सो दल देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्