जनता टाइम्स

२२ असार २०८१, शनिबार १८:२३

आफ्नो सुरक्षामा खटिएका सशस्त्र इन्सपेक्टरको मृत्युपछि कुनै कार्यक्रममा सहभागी भएनन एमाले अध्यक्ष ओली


भक्तपुर, असार २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक दरबन्दी भई ओली निवास बालकोटमा सुरक्षा प्रमुखका रूपमा खटिनु भएका सशस्त्र प्रहरी इन्स्पेक्टर ४२ वर्षीय उमेश थापाको शनिबार बिहान मृत्यु भएको हो । थापा शनिबार बिहान ५ः३० बजे भक्तपुरको सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थित आफ्नै घरमा अचेत अवस्थामा भेटिनुभएको थियो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजन कार्कीका अनुसार अचेत भेटिएका थापालाई उपचारका लागि बिहान साढे ६ बजे भक्तपुर अस्पताल पुर्याइएकोमा ६ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । थापाको के कारणले मृत्यु भएको भन्ने खुलिसकेको छैन ।

प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिएर घटनाको प्रारम्भिक अनुसन्धान गरेको छ । यसैबीच एमाले अध्यक्ष ओलीले थापाको निधनले आफू दुःखि भएको जनाउनु भएको छ । थापाको निधनको खवरपछि एमाले अध्यक्ष ओली आज कुनै पनि कार्यक्रममा समेत सहभागी हुनुभएन ।

‘धेरै नबोल्ने र लजालु स्वभाव। काममा जहिले पनि तम्तयार । सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर भाइ उमेश थापाको निधनको खबरले दुःखी छु। आज म बाहिरका कुनै पनि कार्यक्रममा सहभागी भइनँ । हिजो साँझ छुट्टिएर आफ्नै घर गएका उमेश भाइको बिहान निधनको खबर आयो । परिवारजनमा समवेदना व्यक्त गर्दछु,’ अध्यक्ष ओलीले भन्नुभएको छ ।