जनता टाइम्स

२२ असार २०८१, शनिबार २२:५४

घनघोर वर्षाले देशभर बाढी-पहिरो र डुबान : काठमाडौं उपत्यकामा बाढीको वितण्डा (फोटोफिचर)


काठमाडौं, असार २२ । शुक्रवारदेखि परेको घनघोर वर्षाले देशभर बाढी, पहिरो र डुबानमा पारेको छ । बर्षापछि आएको बाढीले संघीय राजधानी काठमाडौं उपत्यकामा वितण्डा नै मच्चाएको छ । लगातार परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यका जलमग्न बनेको छ । बर्षाका कारण उपत्यकाका तीन जिल्लाका नदीनाला र जलाशयहरु पानी भरिभराउ भएका छन ।

बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत खोला तथा नदी किनारका घरहरु डुबानमा परेका छन । भक्तपुरमा मनोहरा खोला किनारमा डेढ दर्जन भन्दा बढी टहरा डुबानमा परेर मानिसहरु विस्थापित भएका हुन ।

ललितपुरको च्यालसमा नेकपा एमालेको पार्टी कार्यालय र च्यासल रंगशालाभित्र बाढी पसेको छ । यस्तै काठमाडौंको बल्खुमा तरकारी बजार नै डुबानमा परेको छ भने युएन पार्क वरपर बागमती किनारका सडक नै डुबायो । काठमाडौंको नागार्जुन नगरपालिका–३ मा घरमा पहिरो जाँदा एक जनाको मृत्यु नै भयो ।

वर्षा र बाढीले काठमाडौंमा डुबान भएर धेरै धनमालको क्षति समेत भएको छ । युएन पार्क क्षेत्रमा सडक डुबानमा परेको छ भने बल्खुस्थित तरकारी बजार पनि डुबेको छ ।
राजधानी काठमाडौंको नागार्जुन–३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पहिरोले पुरिँदा गोरखाको लखन थापा गाउँपालिका–६ घर भई सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विकको मृत्यु भएको छ ।

यस्तै स्याङ्जाको बिरूवा गाउँपालिका–६ मा पहिरो जाँदा ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्माको मृत्यु भएको छ । ७१ वर्षका माधव शर्मा बेपत्ता छन् । तनहुँ, दाङ, नवलपरासी पश्चिम सहितका जिल्लामा केही मानिसहरू बेपत्ता भएका छन् । कयौं ठाउँमा घर, सडक र पुलपुलेसामा क्षति पुगेको छ ।