काठमाडौं, असार २३ । छिमेकी मुलुक भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना नेपाली मजदुरको हत्या भएको भारतीय सञ्चार माध्यमले जनाएका हुन ।
सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो । भारतीय सञ्चारमाध्यमहरूले पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या गरेको जनाएका छन् ।
घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ । मारिने ४ जना धरान र भोजपुरका नेपाली नागरिक भएको प्रारम्भिक सूचना रहेको छ ।
भारतीय प्रहरीको भनाई उधृत गर्दै आएको समाचारअनुसार हत्या गरिएका ४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ । यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराइसकिएको छ ।
प्रतिक्रिया दिनुहोस्