जनता टाइम्स

२४ असार २०८१, सोमबार ०९:३८

बाढी-पहिरोले देशभरका ३८ राजमार्गमा पहिरो : २१ मा यातायात ठप्प, बाढी-पहिरोमा ४८ जनाको मृत्यु-५४ घाइते (सूचीसहित)


काठमाडौं, असार २४ । मनसुन सुरु भएयताको अविरल वर्षासँगैको बाढीपहिरोले ३८ मुख्य र सहायक राजमार्ग अवरुद्ध भएका छन । नेपालमा २८ जेठमा मनसुन भित्रिएको थियो । प्रहरीका नुसार अवरुद्ध भएका सडकमध्ये तीमध्ये २१ वटा पूर्णरूपमा ठप्प छन भने १७ सडक, राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा रहेका छन ।

प्रहरीको तथ्यांकअनुसार गण्डकीमा चार, लुम्बिनीमा आठ, कर्णालीमा चार, कोशीमा तीन, बागमतीमा दुई र काठमाडौं उपत्यका, कर्णाली र सुदूरपश्चिममा एउटा सडक पूर्ण रूपमा अवरुद्ध रहेका छन । यस्तै कर्णाली र सुदूरपश्चिमका एक-एक सडक एकतर्फी सञ्चालनमा रहेको प्रहरीको तथ्यांकले देखाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षासँगै मुख्य राजमार्गमा पहिरो खस्दा कर्णाली प्रदेशका १० मध्ये सात जिल्लाको यातायात ठप्प छन । कर्णाली राजमार्गमा ११, मध्यपहाडीमा १०, राप्ती राजमार्गमा नौ, कर्णाली करिडोरमा १३ र भेरी करिडोरमा १७ ठाउँमा पहिरो खस्दा कर्णाली प्रदेशका मुगु, जुम्ला, हुम्ला, कालीकोट (सदरमुकाम), डोल्पा, सल्यान र रुकुम पश्चिम जोडने सडक अवरुद्ध बनेका हुन ।

कर्णाली राजमार्ग, कर्णाली करिडोर, भेरी करिडोर, मदन भण्डारी राजमार्ग, राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कर्णालीका सुर्खेत, जाजरकोट र दैलेखमा मात्र सवारीसाधन नियमित रुपमा सञ्चालनमा छन । तर वर्षाका कारण जाजरकोट र दैलेख जिल्ला जोड्ने सडक पनि वेला-वेला अवरुद्ध हुने गरेका छन ।

प्रहरीका अनुसार कर्णाली राजमार्ग दुई दिनदेखि अवरुद्ध छ । कालिकोटको शुभकालिका–१ गगने खोलामा पहिरो खस्दा अवरुद्ध सडक अझै सुचारु हुन सकेको छैन । वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन नसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कर्णाली प्रहरीका प्रवक्ता वीरबहादुर वलीले यात्रुलाई गन्तव्यसम्म पुर्याउन पहिरो नजिक एउटा गाडीले लैजाने र अवरुद्ध भाग हिँडाएर पार गराएपछि फेरि अर्को गाडीमा राखेर लैजाने गरिएको बताउनु भयो ।

त्यस्तै, कर्णाली करिडोरअन्तर्गत कालिकोटको रास्कोट नगरपालिका-८ मा आइतबार पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भेरी करिडोरअन्र्तगत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ छलागार्ड र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ रिजिगार्ड खोलामा पानीको सतह बढ्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । १८ असारदेखि अवरुद्ध भेरी करिडोरमा पानीको सतह नघट्दासम्म यातायातका साधन सञ्चालन हुन नसक्ने प्रवक्ता वलीले जानकारी दिनुभयो ।

यस्तै राप्ती राजमार्गसमेत अवरुद्ध भएको छ । राप्ती राजमार्गअन्तर्गत सल्यानको शारदा नगरपालिका-७ रामेखोलानजिकै पहिरो आउँदा सडक अवरुद्ध बनेको हो । प्रहरीले पहिरो हटाउने कार्य भइरहेको जनाएको छ ।

यस्तै सुर्खेतको लेकबेँसी-१ र गुर्भाकोट नगरपालिका-१४ बीचको खहरे खोलामा बाढी आउँदा मदन भण्डारी राजमार्ग अवरुद्ध भएको छ  भने पहिरोले सिमकोट-हिल्सा सडक अवरुद्ध बनेको छ । हुम्लाको नाम्खा गाउँपालिका-५ नारालेखमा पहिरो गएको हो । यसैगरी कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगार्ड-४ कालामुडामा पहिरो गएको छ ।

मंगलबारदेखि कर्णालीका हिमाली जिल्लाको हवाई सेवा पनि ठप्प छ । मुगुस्थित रारा, जुम्ला, डोल्पाको जुफाल र हुम्लाको सिमकोट विमानस्थलमा मौसममा खराबी आएपछि उडान हुन नसकेको हो । हुम्ला र मुगुको हवाईसेवा १८ असारदेखि ठप्प छ भने हुम्लामा पनि बुधबारदेखि हवाई सेवा अवरुद्ध भएको हो ।

उता सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने केआइसिंह राजमार्गमा पहिरो खसेको छ । डडेल्धुराको रडुवा खोलामा पहिरो खस्दा सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । आइतबार बिहान गएको पहिरो पन्छाएर एकतर्फी यातायात सुचारु गरिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

यस्तै बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग दुई दिनदेखि अवरुद्ध बनेको छ । राजमार्गअन्तर्गत जयपृथ्वी नगरपालिकाको तमेल र बैतडीको पानीघाँटीमा दुई दिनअघि पहिरो खसेकामा आइतबार फेरि जालेबगरमा पहिरो खसेको छ ।यस्तै पहिरोका कारण मार्तडी-कोल्टी सडक सातादेखि अवरुद्ध छ । आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो गएपछि बुडर-जोगबुढा सडक खण्ड पनि अवरुद्ध बनेको छ ।

यस्तै कालीगण्डकी करिडोर नवलपरासी पूर्वका दुई स्थानमा सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका-३ को तरङे खोला र बुलिङटार गाउँपालिका– १ को मोचडाँडामा पहिरो खसेर सडक अवरुद्ध भएको हो । तरङे खोलामा हालेको ह्युम पाइप बगाउँदा तीन दिनदेखि सडक अवरुद्ध भएको र खोलामा पानीको बहाव नघटेको कारण सडक सञ्चालनमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
यस्तै हुप्सेकोट गाउँपालिका-५ पांग्रेमा रुद्रपुर–धौबादी भित्री सडक खण्ड तीन दिनदेखि अवरुद्ध छ ।

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध बनेका छन । बागलुङ प्रहरीका डिसपी विजय यादवका अनुसार करिडोरको बागलुङ नगरपालिका-१० भकुन्डे-दब्ल्याङको सडक पहिरोले बगाएको छ भने जैमिनी नगरपालिका-१ को जैमिनीघाटनजिकै पनि सडक अवरुद्ध छ ।

जैमिनी नगरपालिका-८ मा रहेको रादीखोला र ५ मा पर्ने विनामारेमा पनि पहिरो खसेको छ । पहिरोले मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको गलकोट नगरपालिका-११ रिघामा सडक अवरुद्ध भएको छ । यस्तै दब्ल्याङमा गएको पहिरोले मालढुंगा-बलेवा-कुस्मिसेरा-बरेङ सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

उता कोशी राजमार्गअन्तर्गत संखुवासभा सदरमुकाम खाँदबारीबाट किमाथांका जोड्ने सडक १९ दिनदेखि अवरुद्ध रहेको प्रहरीको भनाइ छ । ५ असारमा आएको अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । वर्षाले मकालुमा निर्माणाधीन जोगबनी-किमाथांका जोड्ने कोशी राजमार्गको थाक्रामस्थित एकुवा खोलाको पक्की पुलमा क्षति पुगेका कारण राजमार्ग अवरुद्ध भएको हो ।

पहिरोले भोटखोला गाउँपालिकाको विभिन्न ठाउँमा क्षति पुर्याएको छ । पुल पूर्ण रूपमा क्षति छ । नयाँ बनाउनु पर्ने तर तत्काल बन्ने अवस्था छैन । प्रहरीको तथ्यांकअनुसार मनसुन सुरु भएयता बाढीपहिरोमा परी ४८ जनाको मृत्यु भएको छ भने ५४ घाइते भएका छन । गण्डकी प्रदेशमा १९, कोशीमा ११, लुम्बिनीमा १०, काठमाडौं उपत्यकामा एकसहित बागमतीमा तीन, मधेशमा र कर्णालीमा दुई–दुई तथा सुदूरपश्चिममा एकजनाको मृत्यु भएको हो ।

त्यस्तै, गण्डकीमा १८, कोशी र कर्णालीमा ११-११, काठमाडौं उपत्यकामा तीनसहित बागमतीमा सात, मधेशमा चार, लुम्बिनीमा दुई र सुदूरपश्चिममा एकजना घाइते भएका छन । यस अवधिमा कोशीमा ४१ र गण्डकीमा १२ गरी ५३ जनाको बाढी र पहिरोबाट उद्धार भएको छ । त्यस्तै, कोशीमा तीन, बागमतीमा दुई, गण्डकी र कर्णालीमा एक-एक गरी सातजना बेपत्ता भएका छन ।

मनसुनको यस अवधीमा देशभर एक सय २१ घर डुबानमा परेका छन । ८२ घर, ४६ गोठ, ४१ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ । एक सय ८८ पशु चौपाया मरेका छन । यस २७ दिनको अवधिमा एक हजार ५८ परिवार विस्थापित भएको प्रहरीको भनाई छ ।