कञ्चनपर, असार २४ । बाढीले कल्भट भत्काउँदा कञ्चनपुरमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ। बेदकोट नगरपालिका ७ सुडा चोक नजिकको कल्भर्ट बाढीले भत्काएपछि राजमार्ग अवरुद्ध भएको हो।
कल्भर्ट भत्किएकाले अवरुद्ध सडक सुचारु गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले जानकारी दिनुभयो । आइतबारदेखि अत्यधिक वर्षाका कारण कञ्चनपुरका अधिकांश स्थानमा घरहरू डुबानमा परेका छन ।
डुबानमा परेकाहरूलाई सुरक्षाकर्मी लगायत विपद् व्यवस्थापनमा खटिएको टोली र स्थानीयहरूले सुरक्षित ठाउँमा सार्ने काम गरिरहेको डिएसपी जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वर्षाका कारण महाकाली पारीको स्थानीय तह दोधाराचाँदनी नगरपालिकाका अधिकांश ठाउँ डुबानमा परेका छन्।
घर डुबानमा परेपछि स्थानीयहरू सुरक्षित ठाउँमा सर्दैछन । यस्तै भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजार लगायत ग्रामीण ठाउँका घर पनि डुबानमा परेका छन । पुनर्वास नगरपालिका, बेदकोट, कृष्णपुर लगायत स्थानीय तहका बस्तीमा डुबान भएको प्रहरीले जनाएको छ ।
डुबानका कारण कृष्णपुरमा ७ महिने बालकको मृत्यु भएको छ। अविरल वर्षाकै कारण कैलालीको भजनी र कैलारी गाउँपालिकाका केही वस्तीहरू डुबानमा परेका छन्।
प्रतिक्रिया दिनुहोस्