जनता टाइम्स

२५ असार २०८१, मंगलवार ००:०४

रिसाएको प्रधानमन्त्रीलाई जिस्क्याउन चाहन्नौं तर कांग्रेस-एमाले सत्ता सहकार्यलाई साथ दिनुको बिकल्प छैन : योगेश भट्टराई


काठमाडौं, असार २५ । नेकपा एमालेका सचिव योगेश भट्टराईले कांग्रेस र एमालेको सत्ता सहकार्यलाई साथ दिँदा नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हित हुने निश्कर्ष सुनाउनु भएको छ ।

दुई दलको सहमति भाँडेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन अनेकन षडयन्त्रमा लागिरहनु भएको बेला पूर्वमन्त्रीसमेत रहनुभएका एमाले सचिव भट्टराईले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।

‘शान्ति प्रक्रियालाई सही निष्कर्षमा पुर्याउन, संविधानलाई गतिशील बनाउन, मुलुकलाई सही दिशामा अघि बढाउन र स्वयं आफ्नै हितका लागि पनि प्रधानमन्त्री प्रचण्डले दुई ठूला दलबीचको सहकार्यलाई साथ दिएर अघि बढ्नुको विकल्प छैन,’ सपचव भट्टराईले भन्नुभयो ।

संघीय संसद् भवन नयाँ बनेश्वर परिसरमा पत्रकारको जिज्ञासाको जवाफ दिने क्रममा सचिव भट्टराईले आफ्नै हितबिपरित नलाग्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । माओवादी केन्द्रलाई साथमा लिएर आफूहरूले सर्वसम्मतिको बाटोबाट संविधान संशोधन कार्य अघि बढाउने पनि भट्टराईले प्रष्ट पार्नुभयो ।

कांग्रेस-एमालेबीचको सहकार्यविना संविधान संशोधनको काम सहज नहुने भएकाले पनि संविधानलाई सही ढंगले अघि बढाउन माओवादी केन्द्रले पनि संविधान संशोधनको बाटोमा आफूहरूलाई साथ दिने उहाँको बिश्वास छ ।

भट्टराईले नयाँ सत्ता समीकरणसँग टाढिएर प्रधानमन्त्री प्रचण्डसँग अन्यत्रैबाट अघि बढ्ने बाटो नभएको पनि बताउनु भयो । प्रधानमन्त्री प्रचण्ड अहिले रिसाएको अवस्थामा रहेकाले आफूहरूले जिस्क्याउन नचाहेको पनि उहाँले बताउनु भयो ।