जनता टाइम्स

२५ असार २०८१, मंगलवार १०:०५

बाढी पहिरोले देशका १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा (सूचीसहित)


काठमाडौं, असार २५ । भारी वर्षापछि आएको बाढी पहिरोलगायत विपदका कारण मुलुकका विभिन्न १९ ठाउँमा राजमार्ग पूर्णरूपमा अवरुद्ध हुन पुगेको छ ।

प्रहरीका अनुसार सोमबार साँझ ६ बजेसम्म अवरुद्ध सडकखण्डमध्ये १४ स्थानमा एकतर्फी रूपमा सडक सञ्चालनमा ल्याइएको छ । ती सडकका पहिरो पन्छाएर तथा खोलेको बाटो मर्मत गरेर एकतर्फी सञ्चालन गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

डिआइजी कार्कीका अनुसार कालिकोटको कर्णाली राजमार्ग, सुर्खेतको मदन भण्डारी राजमार्ग, सिमकोट हुम्लाबाट नाम्खा जानेबाटो, जाजरकोट सडकखण्ड, कर्णाली करिडोर, सुर्खेत÷दैलेख सडकखण्ड, कञ्चनपुरस्थित पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा बन्द भएको छ ।

 

त्यस्तै, रोल्पाको सहिद राजमार्ग, रिडी–बाग्लुङ सडकखण्ड, स्याउलीवास–बाग्दुम्ला, चामे–बेँसीसहरलगायतका सडकखण्ड अवरुद्ध रहेको भने संखुवासभाको कोशी राजमार्ग पनि बन्द नै रहेको छ । पहिराका कारण अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । अन्य विभिन्न जिल्लाका १४ स्थानमा पूर्णरूपमा अवरुद्ध रहेकामा एकतर्फी सञ्चालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार विभिन्न २७ जिल्लाका सडकमा विपद्बाट प्रत्यक्ष असर पुगेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा पहिरोले अवरुद्ध सडक आज सशस्त्र प्रहरीले पुनःसञ्चालनमा ल्याएको छ ।