काठमाडौं, असार २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुलुक ढकाललाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीको साधरण सदस्य मात्रै रहने सवै जिम्मेवारीबाट मुक्त गरेको हो ।
पार्टी सह– प्रवक्ता मनिष झाले दिनुभएको जानकारी अनुसार ढकाललाई महामन्त्री, केन्द्रीय सदस्य र प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ । केन्द्रीय अनुशासन समितिको सिफारिसमा ढकाललाई जिम्मेवारीमुक्त गरिएको झाले बताउनु भयो । केन्द्रीय समितिले गरेको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदनका लागि निवेदन दिनसक्ने निर्णय रास्वपाले गरेको छ ।
रास्वपाको केन्द्रीय अनुशासन आयोगले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको थियो। पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै गत बुधबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री र प्रवक्ताको पद सात दिनका लागि निलम्बन गरेको थियो। थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो।
सोही सिफारिसमाथि छलफल गरी आज केन्द्रीय समितिले ढकाललाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो । ढकाल निलम्बनमा परेपछि कार्यवहाक महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीले र प्रवक्ताको जिम्मेवारी मनिष झाले पाउनु भएको छ ।
अव ढकाल रास्वपामा साधरण सदस्य भएर बस्नुपर्ने भएको छ । समापति रबि लामिछानेमाथि सुध्रनुपर्ने भनेर प्रतिवेदन लेखेपछि महामन्त्री ढकाल बिवादमा पर्नुभएको थियो । सभापति रबि लामिछानेको पार्टी रास्वपा होइन, रास्वपाको सभापति रबिलाई बनाउनु पर्ने निश्कर्ष ढकालले प्रतिवेदनमा राखेबापत कार्वाहीमा पर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्