जनता टाइम्स

२६ असार २०८१, बुधबार १६:५७

एमाले सचिवालय बैठक : कार्यबिभाज हेरफेरदेखि मन्त्रीको मापदण्ड र संगठन कमिटी बनाउनेसम्मका निर्णय


काठमाडौं, असार २६ । नेकपा एमालेले सरकारमा पठाउने मन्त्री चयनको मापदण्ड तयदेखि नेताहरुको कार्यबिभाजनसम्मको बिषयमा गहन छलफल गरेको छ । आज बसेको केन्द्रीय सचिवालयको बैठकले तीन बिषयलाई मुख्य आधार बनाएर छलफल अघि बढाएको हो ।

‘पार्टीका केन्द्रीय कमिटी सदस्यहरूको गत बर्ष गरिएको कार्यविभाजन हेरफेर गर्ने विषयमा छलफल शुरु भएको छ । बैठकले पार्टी सदस्यता नवीकरणको काम साउन मसान्तसम्म सम्पन्न गर्न निर्देशन गर्ने निर्णय गरेको छ,’ बैठकपछि जारी बिज्ञप्तिमा भनिएको छ ।

यस्तै बैठकमा नयाँ बन्ने सरकारले देशका तमाम समस्या समाधान, जनतामा रहेको निराशालाई चिर्दै लोकतन्त्रलाई सुदृढ बनाउने लगायतका महत्वपूर्ण काम गर्नुपर्ने हुँदा सरकारमा परिणाम दिनसक्ने टिम पठाउने विषयमा छलफल गरेको छ ।

बिज्ञप्तिको पूर्णपाठ

नेकपा (एमाले) केन्द्रीय सचिवालयको ३३औं बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज २०८१ असार २६ गते पार्टी कार्यालय च्यासलमा बस्यो ।

अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गर्नुहुँदै नयाँ विकसित राजनीतिक परिस्थितिका बारेमा जानकारी गराउनु भएको थियो । अध्यक्ष ओलीले नेकपा (एमाले) र नेपाली कांग्रेस देशका विद्यमान समस्या समाधान र जनतामा रहेको निराशालाई चिर्नका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारीमा पुगेको विषयका सङ्क्षेपमा जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई हरतरहले सहयोग गर्दागर्दै पनि प्रधानमन्त्री प्रचण्डले एमालेलाई कसरी कमजोर बनाउन सकिन्छ भन्ने ढङ्गले दोहोरो भूमिका खेल्न थालेपछि नयाँ परिस्थिति सिर्जना भएको बैठकले निष्कर्ष निकालेको छ ।

नयाँ बन्ने सरकारले देशका तमाम समस्या समाधान, जनतामा रहेको निराशालाई चिर्दै लोकतन्त्रलाई सुदृढ बनाउने लगायतका महत्वपूर्ण काम गर्नुपर्ने हुँदा सरकारमा परिणाम दिनसक्ने टिम पठाउने विषयमा छलफल गरेको छ । पार्टीका केन्द्रीय कमिटी सदस्यहरूको गत बर्ष गरिएको कार्यविभाजन हेरफेर गर्ने विषयमा छलफल शुरु भएको छ । बैठकले पार्टी सदस्यता नवीकरणको काम साउन मसान्तसम्म सम्पन्न गर्न निर्देशन गर्ने निर्णय गरेको छ । बैठकले जिल्ला अधिवेशन भइनसकेका जिल्ला कमिटीलाई संगठन कमिटीमा रुपान्तरण गरेको छ । साथै, ती जिल्लाहरूका अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न निर्देशन गरिएको छ ।

बैठकले पार्टीको भूमि व्यवस्था विभागको सचिवमा विजय सुवेदी र सहकारी तथा गरिबी निवारण विभागको सचिवमा परितोष पौडेललाई मनोनयन गर्ने निर्णय गरेको छ ।

राजेन्द्र गौतम
प्रमुख
केन्द्रीय प्रचार तथा प्रकाशन विभाग