जनता टाइम्स

२६ असार २०८१, बुधबार २१:३२

चौताराको नगरसभामा झडप, कुटाकुटमा उत्रिए कांग्रेस-एमाले र माओवादी समर्थित जनप्रतिनिधि


सिन्धुपाल्चोक, असार २६ । चौतारा साँगाचोकगढी नगरपालिकाको बजेट सार्वजनिक गर्ने कार्यक्रममा जनप्रतिनिधिबीच नै झडप भएको छ ।

१६औं नगर सभामा बुधबार मध्यान्न बजेट पारित गर्न लाग्दा दुवै पक्षबीच धकेलाधकेल भएको हो । धकेलाधकेलपछि सभामा केहीबेर तनावपूर्ण स्थिति सिर्जना भएको थियो । नेकपा एमाले–नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र समर्थित जनप्रतिनिधि दुई पक्षमा बाँडिएर झडपमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको हो ।

विवाद बढ्दै गएपछि जनप्रतिनिधिहरूबीच नै एकअपासमा हानाहान भएको थियो । भौतिक पूर्वाधारतर्फको बजेट ब्रेकडाउन गरिनुपर्ने र नगरले बहुमतको आधारमा पेलेर जान खोजेको भन्दै कांग्रेस र एमालेबाट निर्वाचित वडा अध्यक्षहरूले विरोध जनाउँदा माओवादी पक्ष आक्रमणमा उत्रिएको आरोप छ ।

सो क्रममा वडा नं ३ का वडाध्यक्ष टेकबहादुर तामाङमाथि हातपात भएको भन्दै उनीहरूले आपत्ति जनाएका थिए । स्थिति नियन्त्रणमा लिन नगर प्रमुख कृष्णप्रसाद सापकोटाले सुरक्षाकर्मी बोलाउनु परेको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि नगरप्रमुख सापकोटाले आर्थिक वर्ष २०८१/८२ को बजेट र केही कार्यविधि सभामा प्रस्तुत गर्नुभयो ।

नारावाजीकै बीच सापकोटाले बजेट र कार्यविधि बहुमतद्वारा पारित भएको घोषणा गर्दै गर्दा कांग्रेस–एमालेका जनप्रतिनिधीले एकलौटी तारिकाले बजेट ल्याइएको भन्दै नाराबाजी गरेका थिए । तर, माओवादी समर्थित जनप्रतिनिधिले ताली बजाएर बजेटको स्वागत गरेका थिए।

नगरमा माओवादीले एकलौटी गरेको आरोप लगाउँदै एमाले–कांग्रेसले केही समयदेखि असन्तुष्टि जनाउँदै आएका छन ।