काठमाडौं, असार २८ । काठमाडौं महानगरपालिकाले पिच गरेको सडक एक साता पनि नबित्दै उप्किएको छ । टेकुस्थित लगन सिमल देवताबाट चल्खु फल्चासम्म गरिएको पिच एक साता नबित्दै उप्किएको हो । सडकको पीच उप्किएपछि बाटोमा खाल्डाखुल्डि परेर पानी जम्न थालेको छ ।
काठमाडौं महानगरका सार्वजनिक निर्माण विभागका सब इञ्जिनियर एवं साइट इञ्जिनियर विवेक खनाल भने निरन्तर परेको अविरल बर्षाले गर्दा पिचमा क्षति पुगेको भन्दै आफूहरुको खराव कामको बचाउ गर्नुहुन्छ ।
खनालले माटो स्केलिङको काम सकाइसकेर पिच गर्नको लागि अलकत्रा पनि हालिसकेर सेमी–ग्राउटिङ गरिएको तर ग्राउटिङ गरेको भोलिपल्टदेखि लगातार वर्षा भएकोले पिच बिग्रिएको जिकिर गर्नुहुन्छ । यस्तै पानी पर्न रोकिएपछि पिच करेक्सन गर्ने खनालको दाबी छ।
सो पिचका लागि इन्द्रदह कम्पनीले ठेक्का पाएको थियो । करिव ३८ लाखमा पिच गर्न महानगरले ठेक्का दिएको हो । स्थानीयवासीले भने असारे बजेट सकाउन पानी परिरहेको बेला हतार हतार सडक पिच गरेको कारण उप्किएको बताएका छन । उनीहरुले मेयरका सचिवालयका मान्छे ठेकेदार मिलेर बदमासी गरेको र पानी परेपछि सडक पिच गरेकोले यस्तो दुर्दशा भएको बताउँछन ।
प्रतिक्रिया दिनुहोस्