काठमाडौं, असार २८ । नेपाली कांग्रेसका नेता रमेश लेखकले संसदको रोष्टमबाटै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कडा जवाफ फर्काउनु भएको छ ।
कांग्रेस र एमालेबीच भएको सहमति र संबिधान संशोधनको बिषयलाई लिएर प्रधानमन्त्री दाहालले प्रश्न उठाउँदै प्रतिगमनको आरोप लगाएपछि लेखकले संसदको रोष्टमबाटै जस्ताको तस्तै जवाफ फर्काउनु भएको हो ।
प्रधानमन्त्री दाहालले आफू सरकारमा रहँदा बिपक्ष तर्साउने र भ्रष्टाचारीलाई संरक्षण गर्ने काम गरेको दृष्टान्त दिँदै लेखकले जनतामा सरकारकै कारण छाएको चरम निरासालाई चिरेर देशलाई अघि बढाउन संबिधान संशोधन र दुई ठूला दलको सहकार्य भएको प्रष्ट पार्नुभयो ।
‘संबिधान प्रारम्भ भएको ८ बर्षभन्दा बढी भइसक्यो । संबिधान निर्जिव बस्तु होइन, यो गतिशिल दस्तावेज हो । अभ्यासका क्रममा देखिएका जटिलताको समिक्षा गरेर राम्रा पक्षलाई सुदृढीकरण र नराम्रा पक्ष हटाउन संबिधान संशोधन हुन्छ । संघीय लोकतान्त्रिक गणतान्त्रिक ब्यवस्था र समावेसी चरित्रको सुदृढीकरण गर्नका लागि संबिधान संशोधन हो,’ प्रधानमन्त्री दाहाललाई जवाफ दिँदै नेता लेखकले भन्नुभयो, ‘अग्रगमनका लागि संबिधान संशोधन गर्ने हो । कतिपय कमरेडहरु संबिधान संशोधन भन्न साथ प्रतिगमन भन्नुहुन्छ, म प्रष्ट पार्न चाहन्छु, संबिधान संशोधन प्रतिगमनका लागि होइन ।’
उहाँले दुई दलबीचको सहकार्य अस्थिरताको अन्त्य र आर्थिक सुदृढीकरणका लागि भएको प्रष्ट पार्नुभयो । ‘१८ महिनामा ५ पटक संसदमा प्रधानमन्त्रीले बिश्वासको मत लिनुपर्ने अवस्थाको अन्त्यका लागि हो संबिधान संशोधन र कांग्रेस एमालेबीचको सहकार्य । त्यसैले भ्रम नछर्नाेस, संबिधान संशोधन देश र जनताको हितका लागि हो । देशलाई अगाडि लैजानका लागि हो । पछाडि धकेल्नका लागि होइन,’ लेखकले भन्नुभयो ।
कांग्रेस नेता लेखकले आफूहरुलाई लोकतन्त्रबिरोधी सिद्ध भइसकेको माओवादी जस्ता पार्टीका नेताहरुबाट अर्ती उपदेशको आवश्यकता नभएको पनि बताउनु भयो । नेता लेखकलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन प्रतिवद्ध रहेको जानकारी पनि दिनुभयो । नेता लेखकले कांग्रेस र एमाले मिल्दा देशलाई कहिल्यै घाटा नभएको तथ्य पनि राख्नुभयो ।
‘जवजव कांग्रेस र एमाले मिलेको छ । देशले सकारात्मक परिवर्तन पाएको छ । समस्याबाट मुक्ति पाएको छ । २०४६ सालको जनआन्दोलनदेखि २०६२/०६३ को जनआन्दोलन र संबिधान कांग्रेस र एमाले मिलेकै परिणाम हो,’ लेखकले भन्नुभयो, ‘एउटा बिशेष स्थितिमा कांग्रेस र एमाले मिल्ने गरेका छौं, अहिले पनि त्यही अवस्था भएको कारण सकारात्मक परिणामका लागि मिलको हो, कोही आत्तिनु पर्दैन ।’
प्रतिक्रिया दिनुहोस्