काठमाडौं, असार २९ । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आइतवार गठन हुन लागेको सरकारमा पठाउने मन्त्रीको विषयमा आन्तरिक छलफल तीब्र बनाएको छ ।
एमाले अध्यक्ष ओली आइतवार प्रधानमन्त्री नियुक्त हुने भएपछि कांग्रेस सभापति देउवाले इतर पक्षका नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापासहित शीर्ष नेताहरूसँग बेग्लाबेग्लै छलफल तीब्र बनाउनु भएको हो । देउवाले यसपटक पार्टीभित्र सन्तुलन मिलाएर विवाद नआउने गरी पार्टीबाट सरकारमा मन्त्री पठाउने तयारी गर्नुभएको छ ।
पार्टीबाट मन्त्री बनाउन मापदण्ड बनाउनको लागि आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठक राख्नुभएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहनेछ । देउवाले यसपटक आफूलाई १४ औं महाधिवेशनमा साथ दिनुभएका पूर्वउपसभापति प्रकाशमान सिंहको नेतृत्वमा ओली सरकारमा मन्त्री पठाउने तयारी गर्नुभएको छ ।
ओली सरकारमा जानका लागि अहिलेसम्म नेता सिंहसहित रमेश लेखक, डा. आरजु राणा देउवा, जीवन परियार र अजय चौरसियाको नाम लगभग फाइनल भइसकेको देउवानिकट स्रोतले जनताटाइम्स डटकमलाई बतायो । ‘उहाँहरु ५ जनाको नाम सभापतिले टुंगो लगाइसक्नु भएको छ, अन्यको नाममा छलफल भइरहेको छ,’ देउवानिकट एक नेताले भने । एमालेसँगको सहमति अनुसार कांग्रेसले बढीमा ११ मन्त्रालय पाउनेछ ।
स्रोतका अनुसार मन्त्रीका लागि पूर्वमहामन्त्री अर्जुननरसिंह केसी, संखुवासभाका दिपक खड्का, दाङका दिपक गिरी, मुगुका ऐनबहादुर शाही, सुर्खेतका हृदयराम थानी, रामनाथ अधिकारीको नाममा पनि छलफल भइरहेको छ । यसैगरी चन्द्र भण्डरी, प्रदीप पौडेल, तेजुलाल चौधरीको नाममा समेत छलफल भइरहेको स्रोतले बतायो । तेजुलाललाई मन्त्री बनाउन राष्ट्रपति रामचन्द्र पौडेलले नै दवाव दिनुभएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्