मिसन ८४ मा हामी दुवै एक्लाएक्लै चुनाव लड्ने छौं । दुवैले साना दलसँग गठबन्धन गर्ने छैनन । तर, ८४ पछाडि कांग्रेस र एमालेमध्ये एउटा सत्तामा एउटा प्रतिपक्षमा हुनेछ । सत्तामा जान साना दलले गर्ने सौदाबाजी अन्त्य हुनेछ ।
ललितपुर, असार २९ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताले अस्वीकार गरेकाहरुले शासन गर्ने व्यवस्था अब सधैंका लागि अन्त्य गर्नुपर्ने निश्कर्ष सुनाउनु भएको छ । मानव अधिकार एलाइन्स ललितपुरले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।
महासचिव पोखरेलले साना–साना दलले सत्ताका सौदाबाजीका लागि जनताका भावनामाथि खेलवाड गर्ने परम्परा सधैंका लागि अन्त्य हुनुपर्ने बताउनु भयो । ‘जनताले अस्वीकार गरेकाहरुले शासन गर्ने व्यवस्था अब सधैंका लागि अन्त्य गर्नुपर्छ । साना–साना दलले सत्ता सौदाबाजीका लागि जनताका भावनामाथि खेलवाड गर्ने परम्परा सधैंका लागि अन्त्य हुनुपर्छ । त्यो दिशामा जानका लागि दुई ठूला पार्टी मिलेका छौं,’ एमाले महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले आगामी निर्वाचनमा दुवै दल गठबन्धन गरी चुनाव नलडने भन्दै चुनापछि दुईमध्ये एक दल सत्ता र एक दल प्रतिपक्षमा रहने बताउनु भयो । ‘मिसन ८४ मा कांग्रेस एमाले एक्लै एक्लैचुनाव लड्ने छन । साना दलसँग गठबन्धन गर्ने छैनन । जनतामा आशा जगाउन मिलेका हौं । तर ८४ पछाडि कांग्रेस र एमालेमध्ये एउटा सत्तामा एउटा प्रतिपक्षमा हुनेछ। सत्तामा जान साना दलले गर्ने सौदाबाजी अन्त्य हुनेछ,’ महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त हुने भएपछि शुक्रबार संसदमा छट्पटी देखिएको भन्दै आलोचना गर्नुभयो । उहाँले कमजोर दलले देश र सरकार चलाउँदा अस्थिरता देखिएकाले दुई ठूला दल मिल्नुपरेको जकिर पनि गर्नुभयो । महासचिव पोखरेलले राज्यलाई बलियो बनाउन राजनीतिक दल बलियो बनाउनुपर्ने धारणा पनि राख्नुभयो । राजनीतिक अस्थिरताबाट देश बन्न नसक्ने बताउँदै पोखरेलले अस्थिरतालाई जनताले अस्वीकार गरेर स्थिरता र समृद्धिका पक्षमा लाग्नुपर्ने बताउनु भयो ।
युवालाई देश पलायनबाट रोक्ने योजना बनाउनुपर्ने भन्दै महासचिव पोखरेलले थप्नुभयो, ‘युवाहरुलाई हामी आफैँ देश बनाउँछौं भन्ने भावना जगाएर विदेश पलायनबाट रोक्नुपर्छ । देश बनाउनका लागि क्षमता भएका युवालाई अवसर दिएर स्वदेशमै रोक्न सकेमात्र देश विकास हुन्छ ।’
सम्बोधनको क्रममा उहाँले एमाले नेतृत्व सरकारले समृद्ध नेपाल, सुखी नेपालको नारालाई साकार पार्ने अभियान चलाउने जानकारी दिनुभयो । ‘उद्योगी, व्यवसाय संकटग्रस्त अवस्थामा छन । उनीहरुलाई कसरी गतिशिल बनाउने ? कसरी चलायमान बनाउने ? भनेर नयाँ सरकारले अधुरा ती काम अगाडि बढाउँछ ।’
प्रतिक्रिया दिनुहोस्