जनता टाइम्स

२९ असार २०८१, शनिबार १८:१९

ओली सरकारमा पठाउने मन्त्री छान्न कांग्रेसले तोक्यो दुई मापदण्ड, सभापति देउवाले फाइनल गरेका ५ नेता मापदण्डभित्रै अटाए


काठमाडौं, असार २९ । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्न लागेको मन्त्रिपरिषदमा पठाउने सदस्यहरुको बिषयमा मापदण्ड (आधार) तय गरेको छ ।

सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणा देउवासहित ५ जनाको नाम फाइनल गरेपछि बसेको कांग्रेस बैठकले मन्त्रीका लागि दुई मापदण्ड तय गर्ने निर्णय गरेको हो। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसको केन्द्रीय कार्यसम्पादन बैठकले दुई आधारमा मन्त्री चयन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

कांग्रेका प्रवक्ता महतले समावेशिता र प्रादेशिक सन्तुलन कायम हुने गरी मन्त्री चयन गर्ने निर्णय भएको जानकारी दिनुभयो । ’मन्त्री चयन गर्दा कांग्रेसमा समावेशिता र प्रादेशिक सन्तुलन मिलाउने निर्णय गरेको छ,’ महतले भन्नुभयो । यो निर्णयअनुसार प्रत्येक प्रदेशबाट एक जना मन्त्री कम्तीमा पर्नेछन । सभापति देउवाले फाइनल गरेको नाम पनि फरक फरक प्रदेशका रहेका छन ।

कांग्रेस बैठकले एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा सहभागी हुने औपचारिक निर्णय पनि गरेको छ । गत असार १७ गतेको भएको सहमतिअनुरूप कांग्रेस ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता महतले बताउनु भयो । कांग्रेस र एमालेको समर्थनमा एमाले अध्यक्ष ओलीले शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गरिसक्नु भएको छ ।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) बमोजिम सरकार गठनको आह्वान गरेपछि संसदका दुई ठूला दल कांग्रेस र एमालेले शुक्रबार राति साढे ९ बजे राष्ट्रपति कार्यालय पुगेर ओली नेतृत्वको सरकार गठनका लागि दाबी पेस गरेका हुन । दावीअनुसार आइतवार प्रधानमन्त्रीको नियुक्ति र शपथ ग्रहणको कार्यक्रम राखिने राष्ट्रपति कार्यालयले जनाएको छ ।