वासिङटन डिसी (अमेरिका), असार ३० । अमेरिकी राष्ट्रपतिको दौडमा रहनु भएका पूर्वराष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पमाथि गोली प्रहार गर्ने संदिग्ध ब्यक्तिको पहिचान खुलेको छ ।
शनिबार साँझ साढे ६ बजे पेन्सिलभेनियाको बट्लरमा चुनावी र्यालीको क्रममा पूर्वराष्ट्रपति ट्रम्पमाथि एक्कासी गोली प्रहार भएको थियो । संयुक्त राज्य अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआई) ले ट्रम्पमाथि गोली चलाउने संदिग्ध ब्यक्ति २० वर्षीय थोमस म्याथ्यु क्रुक रहेको सार्वजनिक गरेको छ । एफबिआइका अनुसार उनी पेन्सिलभेनियाको बेथेल पार्कका निवासी हुन ।
उनले किन र कस्को योजनामा गोली चलाएका हुन भन्ने खुलेको छैन । ट्रम्पको हत्या प्रयासपछाडिका कारण भने खुलिसकेको छैन । यसमा अनुसन्धान भइरहेको एफबिआइले जनाएको छ। एफबिआईले यसलाई ट्रम्पको हत्या प्रयास पनि भनेको छ । अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले चुनावी सभालाई सम्बोधन गरिरहेको स्थलबाट ४ सय फिट उत्तरतर्फ रहेको सानो भवनको छतबाट क्रुकले उहाँमािथ गोली चलाएका थिए ।
र्यालीमै गएका एक जना ट्रम्पका समर्थकले क्रुकलाई भवनतर्फ जाँदै गरेको र छतमा राइफलसहित घिस्रिँदै गरेको देखेपछि त्यहाँ उपस्थित सुरक्षाकर्मीलाई सूचना दिएका थिए । लगत्तै क्रुकले ट्रम्पले सम्बोधन गरिरहेको र्यालीतर्फ अन्धाधुन्ध गोली चलाएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन ।
सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा सार्वजनिक भिडिओमा देखिएअनुसार के को हो भन्ने भेउ नपाउँदै ट्रम्पको दाहिने कानमा गोली लागेको थियो । गोली लाग्नेबित्तिकै ट्रम्प दाहिने कान समात्दै बाँकी गोलीबाट बँच्नका लागि पोडियम पछाडि घुँडा टेकेर बस्नुभएको थियो । पूर्वराष्ट्रपति ट्रम्पसँगै पछाडि रहेका उहाँका समर्थकहरू पनि गोलीको आवाज सुनेर पोडियम पछाडि आए र घुँडा टेकेर जागिएका थिए ।
त्यसपछि त्यहाँ उपस्थित सुरक्षाकर्मीहरू ट्रम्प भएको ठाऊँमा आएर चारैतिरबाट घेरेर राखेका थिए । सुरक्षाकर्मीहरू आएपछि ट्रम्प पोडियमबाट उठदा कानबाट बगेको रगत गालासमम्म पुगेको थियो । गोली लागेपछि पनि ट्रम्पले मुठ्ठी उचाल्दै त्यहाँ उपस्थित समर्थकहरूको हौसला बढाउनु भएको थियो ।
त्यसपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई नजिकै राखिएको कारमा लिएर गएका थिए । त्यतिबेलासम्म त्यहाँ उपस्थित सुरक्षाकर्मीहरूले जवाफी गोली चलाएको थियो । सुरक्षाकर्मीको गोली लागेर आक्रमणकारी क्रुकको घटनास्थलमै मृत्यु भएको थियो । गोली लागेर र्यालीमा सहभागी एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन ।
गोली चलेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्प सुरक्षित भएकोमा राहत महसुस गरेको बताउनु भएको छ । उहाँले अमेरिकामा यस प्रकारको हिंसाका लागि कुनैपनि ठाउँ नरहेको बताउँदै घटनाको निन्दा पनि गर्नुभएको छ । यसविरूद्ध मिलेर लड्न पनि उहाँले आह्वान गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्