जनता टाइम्स

३० असार २०८१, आईतवार २३:३४

प्रधानमन्त्री ओलीलाई निवासमै पुगेर उद्योग बाणिज्य महासंघ अध्यक्ष ढकालले दिए बधाई


काठमाडौं, असार ३० । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र ढकालले बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्रीमा ओली नियुक्त हुनुभएपछि उहाँकै निवास बालकोट पुगेर आज अध्यक्ष ढकालले बधाई दिनुभएको हो । प्रधानमन्त्री ओलीलाई बधाइ दिएर फर्कने क्रममा जनताटाइम्स डटकमसँग छोटो प्रतिक्रिया दिँदै अध्यक्ष ढकालले लगानीको बातावरण बढाउन र नीजि क्षेत्रको मनोबल बृद्धि गर्ने काममा नयाँ सरकारबाट सकारात्मक भूमिका हुने बिश्वास ब्यक्त गर्नुभयो ।

मुलुकको लागि जोखिम मोल्नसक्ने नेतृत्व आएको भन्दै उहाँले सरकारले नीतिगत ब्यवस्थामार्फत नै नीजि क्षेत्रको मनोबल बढाउने अपेक्षा आफुहरुको रहेको बताउनु भयो ।

‘आर्थिक क्षेत्र चलायमान बनाउन जरुरी छ । यसको लागि नीतिगत रुपमै निजी क्षेत्रको मनोबल बढाउने काम हुनुपर्छ,’ अध्यक्ष ढकालले भन्नुभयो, ‘लगानीको बातावरण बनाउन निजी क्षेत्रको कन्फिडेन्स बढाउन जरुरी छ । स्वदेशी लगानीकर्ता र बिदेशी लगानीका लागि बिश्वसनीय बातावरण बन्ने अपेक्षा रहेको छ ।’

यसैगरी नेपाल उद्योग ब्यवसायी महासंघका अध्यक्ष भगीरथ सापकोटाले पनि ओली निवासमै पुगेर प्रधानमन्त्री ओलीलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।