काठमाडौं, असार ३१ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गर्न कार्यदल गठन गर्ने निर्णय गर्नुभएको छ ।
सञ्चार मन्त्रालयमा आज पदबहाली गर्दै मन्त्री गुरुङले कार्यदल गठनको निर्णय लिनुभएको हो । पदबहालीको क्रममा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले हस्तान्तरण गरेको उक्त प्रस्तावमा सञ्चारमन्त्री गुरुङले पदबहाली गर्दै पहिलो निर्णयका रुपमा उक्त निर्णय सदर गर्नुभयो ।
सरकारको नीति तथा कार्यक्रममा ब्यवस्था भएअनुसार परिमार्जनका लागि मन्त्रालयका सूचना प्रविधि महाशाखाका सहसचिवको नेतृत्वमा कार्यदल गठन गरिएको हो । सरकारको नीति तथा कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि एवं प्रणालीहरुको सुरक्षित र प्रभावकारी प्रयोगका लागि कानुनी र संस्थागत ब्यवस्था गरिने छ । डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरिने छ । सूचना प्रविधिसम्वद्ध निकायको पुनःसंरचना गरी सेवा प्रवाहलाई प्रभावकारी बनाइने छ भन्ने उल्लेख थियो । सोही घोषणाअनुसार मन्त्री गुरुङले परिमार्जनका लागि कार्यदल गठन गर्नुभएको हो ।
पदबहाली लगत्तै पहिलो निर्णयबारे जानकारी दिँदै सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘राष्ट्रपतिले सम्बोधन गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा आएको विषय हो । सञ्चार तथा सूचना तथा प्रविधिको प्रयोगका लागि कानूनी र संस्थागत विकास गर्न गर्ने योजना रहेको र त्यसका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने तथा सूचना प्रविधि सम्बद्ध निकायको पुर्नसंरचना गर्ने निर्णयको फाइल सदर गरेको छु ।’
सञ्चार मन्त्रालयमा आएपछि अब कसरी काम गर्नुहुन्छ र के–के योजना छन भन्ने सञ्चारकर्मीको प्रश्नमा सवै जानकारी लिएपछि मात्रै आफूले बोल्ने बताउनु भयो । ‘आज केही पनि बोल्दैन । पद बहाली गरेको दिन ठूलो ठूलो गर्ने तर काम केही नगर्ने जस्तो म गर्दैन । नीतिगत र संस्थागत अध्ययन गरेर कुन काम यो मन्त्रालयका लागि आवश्यक हो कुन काम होइन, त्यो बुझेर मात्रै बोल्नेछु । पपुलर हुनका लागि बोल्ने होइन । समस्याको समाधान गर्न प्रतिवद्ध भएर लाग्ने गरी आएको छु,’ मन्त्री गुरुङले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्