जनता टाइम्स

१ श्रावण २०८१, मंगलवार १८:३६

एकता भएको १६ महिनामै फुट्यो मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्यनिष्ट पार्टी


काठमाडौं, साउन १ । नेकपा माओवादीबाट बिभाजित भइ बनेको मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्काे पार्टीसँग एकता गरेको १६ महिनामै फेरि फुटेको छ ।

बैद्य र धर्मेन्द्र बाँस्तोला नेतृत्वको पार्टीबीच २०७९ चैतमा दुई पार्टीबीच एकता भएकोमा आजबाट फेरि बिभाजित बनेको हो । सो पार्टीका सह–संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ले आज विज्ञप्ति जारी गर्दै एकता प्रक्रिया असफल भएको घोषणा गर्नुभएको छ । दुई वर्षको अवधिमा पार्टी एकतालाई सुदृढ गर्न आफूहरूले कैयौँ प्रयत्न गरेपनि एकता सफल हुन नसकेको बाँस्तोलाले जनाउनु भएको छ ।

’एकता आज सफल नभए भोलि सम्भव छ तर, अनावश्यक हुने तिक्तताले आन्दोलनलाई लामो समयसम्म नोक्सान गर्छ । दुई वर्षको अवधिमा एकतालाई सुदृढ गर्न हाम्रो तर्फबाट भएका कैयौँ प्रयत्नहरूका बाबजुद हामी सफल हुन सकेनौँ । अतः समय र विषयको संवेदनशीलतालाई मध्यनजर गरेर आजैका मितिबाट एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

बाँस्तोलाले एकताको आरम्भमा पैदा भएको उत्साह र ऊर्जा जोगाउन नसक्नुमा आफ्नो तर्फबाट पनि कमीहरू भएको भन्दै त्यसप्रति आत्मालोचना पनि गर्नुभएको छ ।