जनता टाइम्स

२ श्रावण २०८१, बुधबार १५:१४

एमाले सांसद महेश बर्तौलाले प्रधानमन्त्रीबाट पाए बिशेष जिम्मेवारी, सत्तापक्षको मुख्य सचेतक नियुक्त  


काठमाडौं, साउन २ । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि सत्तारुढ दलको मुख्य सचेतकमा एमाले सांसद महेश बर्तौला नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री एमाले संसदीय दलका नेता ओलीले एमाले मुख्यसचेतक बर्तौलालाई आजबाट सत्तारुढ दलको मुख्य सचेतक पदमा मनोनयन गर्नुभएको हो ।

एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा साउन २ गतेबाट लागू हुनेगरी मनोनयन गरिएको दलका नेता तथा प्रधानमन्त्री ओलीले दिनुभएको पत्रमा उल्लेख छ ।

मुख्य सचेतकलाई सत्तारुढ दलबाट   नियुक्त गर्ने गरिन्छ । मुख्य सचेतकले सत्तापक्षको प्रमुख सचेतकको नेतृत्वको भूमिका समेत गर्ने व्यवस्था छ । मकवानपुर २ बाट निर्वाचित युवा नेता बर्तौला यसअघि एमालेको सचेतक हुँदै प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएको थियो ।

दलको प्रमुख सचेचतकका रुपमा राम्रो भूमिका निर्वाह गरेको कारण प्रधानमन्त्री ओलीले युवा नेता बर्तौलालाई सत्तापक्षकै मुख्य सचेतकको जिम्मेवारी दिनुभएको हो ।