काठमाडौं, साउन ४ । काठमाडौंको न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारको काममा स्थानीयले पुनः अवरोध गरेका छन् । न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीयवासी उत्रिएपछि उल्लेख्य मात्रामा नेपाल प्रहरी, नगरप्रहरी लगायत तैनाथ गरिएको छ ।
उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि काठमाडौं महानगरपालिकाले बुधबारदेखि पुनः बिस्तारको काम सुरु गरेको थियो । महानगरको सो काम रोक्न स्थानीयवासी सडकमै उत्रिएर बिरोध गरेका हुन ।
यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।
सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको हो । तर स्थानीयको अवरोधले काममा बाधा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्