काठमाडौं, साउन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगमा विद्युत लाइन जोड्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
उर्जमन्त्री दिपक खडका, उद्योगमन्त्री दामोदर भण्डारीसहित उद्योगीहरुसँगको आज भएको छलफलमा प्रधानमन्त्री ओलीले प्राधिकरण नेतृत्वलाई यस्तो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले आज डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौता विवाद समाधानका लागि सरोकारवाला मन्त्री, उद्योगी र बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग छलफल गर्नुभएको हो ।
सो क्रममा प्रधानमन्त्री ओलीले प्रबन्ध निर्देशक घिसिङलाई काटिएका उद्योगमा आज नै विद्युत लाइन जोड्न निर्देशन दिनुभयो । छलफलमा सहभागी उद्योगी पशुपति मुरारकाका अनुसार प्रधानमन्त्री ओलीले ‘विद्युतसम्बन्धी समस्या मन्त्रिपरिषद्बाट मिलाउँदै जाउला, अहिलेलाई बिजुली जोडिदिनु’ भनेर निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले लाइन काटिएको उद्योगमा आजै जोड्न निर्देशन दिनुभएको पनि मुरारकाले बताउनु भयो ।
‘प्रधानमन्त्रीको निर्देशनपछि कुलमानले प्राधिकरणको बोर्डको बैठक बसेर निर्णय गरेर मात्रै लाइन जोड्ने भनेका थिए, तर प्रधानमन्त्रीले आजै बोर्ड बैठक बसेर काटिएका उद्योगमा लाइन जोड्न निर्देशन दिनुभएको छ,’ मुरारकाले भन्नुभयो । विद्युत प्राधिकरणले केही समयअघि ट्रंक र डेडिकेटेड लाइन प्रयोगको बक्यौता नतिर्ने ठूला उद्योगको लाइन काट्न सुरु गरेको थियो । प्राधिकरणले यसअघि जगदम्बा स्टिल, घोराही सिमेन्ट उद्योग, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो ।
प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म ६१ वटा उद्योगले प्रयोग गरेको डेडिकेटेड र ट्रंकलाइनको ६ अर्ब ६० करोड बक्यौता तिर्न बाँकी रहेको बताउँदै आएको छ । प्राधिकरणका अनुसार उक्त रकम जरिवानासहित करिब साढे ८ अर्ब पुगेको छ । प्रधानमन्त्री ओलीले प्राधिकरणको बक्यौता असुली हुनुपर्ने तर उद्योगमा लाइन काटेर आतंक मच्चाउन नहुने पक्षमा लाग्न पनि प्राधिकरण नेतृत्वलाई निर्देशन दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्