काठमाडौं, साउन ५ । गृहमन्त्री रमेश लेखकले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूलाई आफ्नो सक्रियता बढाउन निर्देशन दिनुभएको छ ।
गृहमन्त्री लेखकले मनसुनजन्य विपद्का बेला सक्रियता बढाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको हो । शुक्रवार भर्चुअल माध्यमबाट प्रमुख जिल्ला अधिकारीका साथै जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई सम्बोधन गर्दै गृहमन्त्रीले मनसुनजन्य विपद्बाट प्रभावित भएका नागरिकलाई राहत तथा उद्धार गर्न राज्यका तर्फबाट कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिनुभयो ।
सीमित स्रोत साधनका बाबजुद पनि विपद् व्यवस्थापनमा धेरै काम गर्नुपरेको उल्लेख गर्दै गृहमन्त्री लेखकले विपद् व्यवस्थापनका साथै जिल्लाको शान्ति सुरक्षा, लागू औषध नियन्त्रण, आपराधिक गतिविधि नियन्त्रणलगायत विषयमा सक्रिय हुन निर्देशन दिनुचएको उहाँको सचिवालयले जनाएको छ ।
भर्चुअल बैठकमा गृहसचिव एकनारायण अर्यालले विपद्को सुरुवाती दिनमै यसपटक देशभर धेरै जनधनको क्षति भएको भन्दै सतर्कता अपनाउनु पर्ने बताउनु भयो । गृहसचिव अर्यालले बाढी पहिरोबाट पीडित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नका लागि समन्वय गर्न पनि सुझाउनु भयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलले विपदका क्रममा विभिन्न प्रभावित जिल्लाका एक हजार चार सय परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिनुभयो ।
भर्चुअल बैठकमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समितिका पदाधिकारी सहभागी रहेको गृह मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्