काठमाडौं, साउन ५ । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक अनुशासन, पारदर्शिता र जबाफदेहीता सबैभन्दा महत्वपूर्ण रहेको बताउनु भएको छ । नेपाल चार्टर एकाउन्टेन्ट संस्थाले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनु भएको हो ।
उहाँले राज्यका निकायमा चार्टर एकाउन्टेन्ट नियुक्ति गरी लेखा परीक्षणको व्यवस्था मिलाउनु पर्ने बताउनु भयो । यसका लागि केही समय लाग्ने भए पनि आफूले पहलकदमी लिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । पौडेलले अहिले देशमा आर्थिक समस्या देखिएको र सरकार समाधानका लागि अघि बढिसकेको बताउनुभयो ।
‘देशमा जे जस्ता आर्थिक समस्या देखिएका छन, ती आर्थिक सवै समाधान गर्दै पछिल्ला दिनमा जुन प्रकारको निराशा देखिएको छ, जुन प्रकारको आर्थिक शिथिलता देखिएको छ, त्यो आर्थिक शिथिलताको अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नको लागि र निराश चिर्नको लागि सरकार लागिपरेको छ,’ अर्थमन्त्री पौडेलले भन्नुभयो।
उहाँले दृढ संकल्पसहित अघि बढदा जस्तासुकै समस्याको समाधान गर्न सकिने आफ्नो निश्कर्ष पनि सुनाउनु भयो । ‘हामी हाम्रो देशलाई समृद्ध बनाउन सक्छौँ, आर्थिक क्षेत्रका यावत समस्याको सार्थक पहलकदमी लिएर समाधान गर्न सक्छौँ’ भन्ने सन्देश बोकेर काम गर्नुपर्ने पौडेलको भनाई छ ।
‘हामी सम्मानित नागरिकका हैसियतले दुनियाँका सामनेमा परिचित हुन सक्छौँ भन्ने सन्देश दिने गरी अगाडि बढ्नका लागि हार्दिकतापूर्वक अनुरोध गर्दछु’, पौडेलले भन्नुभयो । अर्थमन्त्री पौडेलले समस्या देखाएर भाग्ने प्रबृत्ति अव सवैले त्याग्नुपर्ने भन्दै सवैका पहलकदमीमा मुलुकलाई सही ढंगबाट अघि बढाउने सरकारको लक्ष्य रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्