जनता टाइम्स

५ श्रावण २०८१, शनिबार २०:४८

भीमेश्वरको शिलामा दुईपटक गरी २ घण्टा २९ मिनेट पसिना, क्षमापुजाका लागि दोलखालीले गुहारे राष्ट्रपति


दोलखा, साउन ५ । दोलखाको प्रसिद्ध धार्मिकस्थल भीमेश्वर मन्दिरको शिलामा २१ औँ पटक पसिना आएपछि क्षमा पुजा गरिएको छ । आज दिउसो १ : ४७ बजेबाट भीमेश्वरको शिलामा एक्कासी पसिना आउन सुरु गरेको थियो ।

मन्दिरको शिलामा ‘पसिना’ आएपछि पुजारीले स्थानीय र मन्दिर व्यवस्थापन समितिलाई खबर गरेका थिए । ‘पसिना’ आएको खबर लगत्तै जिल्ला प्रशासन, प्रहरी, नेपाली सेना लगायतका प्रमुख तथा प्रतिनिधि मन्दिरमा पुगेका थिए । शिलामा पसिना आएपछि ठूलो संख्यामा स्थानीय भक्तजन भेला भएर ठूलो आवाजमा घण्टा, नगरा बजाएका थिए ।

यस्तै मन्दिरका पुजारी तथा समितिका मानिसले शिलाको पसिना कपासले पुछेका थिए । त्यसैगरी परम्परा अनुसार तान्त्रिक विधिबाट शिलामा पूजासमेत गरिएको भीमेश्वर मन्दिर व्यवस्थापन समितिका सचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । भीमेश्वरको शिलामा शनिबार दिउँसो १ः४७ बाट पसिना आउन सुरु भएर ३ः५१ मा रोकिएको थियो । लगतै ३ः५१ पछि एकैछिन रोकिएर फेरि आउन सुरु गरेको पसिना ४ः १५ बजे रोकिएको थियो ।

मन्दिरमा सुरुमा शिलाको बाँयातर्फबाट पसिना आउन सुरु गरेकोमा पछि शिलाको बीचबाट पनि पसिना आएको थियो । शिलामा पसिना आएपछि ‘पसिना’ पुछेको कपास लिन मन्दिरमा ठूलो भीड लागेको थियो । शिलामा आएको पसिना पुछेको कपास साथमा राख्दा रोगब्याधी नलाग्ने, यात्रा सफल हुने, मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

दोलखाको प्रसिद्ध भीमेश्वरको शिलामा अहिलेसम्म २१औँ पटक पसिना आइसकेको छ । स्थानीयका अनुसार पछिल्लो पटक तीन बर्ष अघि २०७८ वैशाख २५ गते भीमेश्वरको शिलामा पसिना आएको थियो । यस्तै १९९०, २००७, २०२८, २०४५, २०६३, २०७१, २०७४ मा पनि भीमेश्वरको शिलामा पसिना आएको थियो । शिलामा पसिना आएपछि तान्त्रिक विधिबाट पूजा नगरी पसिना रोकिँदैन भन्ने विश्वास रहेको छ । शनिबार पनि भीमेश्वर मन्दिरमा तान्त्रिक विधिबाट पूजा गरेपछि पसिना आउन रोकिएको थियो ।

भीमेश्वरको शिलामा दायाँ पट्टी पसिना आउँदा राष्ट्रप्रमुखलाई असर गर्ने र बाँया पट्टी पसिना आउँदा जनतालाई असर गर्ने जनविश्वास रहँदै आएको छ । शिलामा पसिना आउँदा शुभ या अशुभ दुवै खाले प्रभाव पर्न सक्ने मन्दिर व्यवस्थापन समितिका सचिव श्रेष्ठ बताउनु हुन्छ ।

शिलामा पसिना आएपछि उक्त पसिना पुछेको कपास राष्ट्र प्रमुखकोमा पठाउने र राष्ट्रप्रमुखको तर्फबाट क्षमा पूजा गर्ने प्रचलन समेत रहेको छ । शिलामा ‘पसिना’ आएकाले राष्ट्र प्रमुखले क्षमा पूजा गर्ने चलन छ । जसका लागि राष्ट्रपतिबाट हुने क्षमा पूजाका विषयमा आइतबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भीमेश्वर मन्दिर व्यवस्थापन समितिका पदाधिकारीसहित १० जना राष्ट्रपति कार्यालयमा सुरुमा पसिना पुछेको कपास लिएर जाने निर्णय भएको छ ।