काठमाडौं, साउन ६ । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सत्ताबाट बाहिर पर्न साथ लोकतन्त्र र संविधान खतरा पर्छ भन्ने अफवाह फैलाउने र भ्रममा पर्ने कुसंस्कार त्याग्न माओवादी केन्द्रलाई सुझाव दिनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको बिश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सचिव बिष्टले यस्तो सुझाव दिनुभएको हो । उहाँले स्थिर सरकार निर्माण गर्नको लागि कांग्रेस र एमाले मिलेको तथ्यलाई अन्यत्र मोडने र जनतामा भ्रम पार्ने काम नगर्न आग्रह पनि गर्नुभयो ।
‘विगत १७ वर्षयता नेमकिपाबाहेक संसदमा रहेका सबै पार्टीहरु सरकारमा सहभागी भएका छन् । आफू सरकारमा हुँदा लोकतन्त्र जोगिने आफू सरकार बाहिर हुँदा लोकतन्त्रमा खतरा पर्ने यो मान्यताले संविधान र लोकतन्त्र समृद्ध हुन्छ ?’ बिष्टले भन्नुभयो ।
सरकार भए पनि नभए पनि लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्नुपर्ने बताउनु भयो । ओली प्रधानमन्त्री बनेपछि देश आशावादी बनेका पनि उहाँको भनाई छ । सचिव बिष्टले निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिश्वासको मत लिने क्रममा एमाले र कांग्रेसमाथि गम्भीर आक्षेप लगाएको भन्दै आरोपको खेती नगर्न चेतावनी पनि दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्