जनता टाइम्स

६ श्रावण २०८१, आईतवार १६:२५

प्रचण्डपथतिर लागेनन बागमतीका मुख्यमन्त्री जम्मकट्टेल, संसदमा संबोधनलगत्तै दिए राजीनामा


हेटौंडा, साउन ६ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिनुभएको छ । अल्पमतमा परेपनि संस्दमा बिश्वासको मत लिने नाटक गर्नुभएका आफ्नै दलका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पथ त्यागेर जम्मकट्टेलले पदबाट राजीनामा दिनुभएको हो ।

आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उहाँले राजीनामा दिनुभयो । यसअघि जम्कट्टेलले विश्वासको मत लिन प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराउनु भएको थियो । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले उहाँलाई राजीनामा सुझाव दिएको थियो ।

प्रदेश सभाबाट आफूले गरेका कामको रेकर्ड गराउन बैठक राख्न आग्रह गरेको र विश्वासको मत लिने प्रस्ताव दर्ता गरेको बताउँदै नयाँ सरकार बनाउन दुई दलको स्पष्ट बहुमत रहेकाले मार्ग प्रशस्त गर्न चाहेको मुख्यमन्त्री जम्कट्टेलले बताउनु भयो । माओवादी केन्द्रले प्रदेश सभामा सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने जानकारी पनि उहाँले दिनुभयो ।

असार २४ गते सता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा पर्नुभएको थियो । गत २०७९ पुस २५ गते एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट दोस्रो कार्यकालको पहिलो सरकारको नेतृत्व गर्नुभएका जम्कट्टेल १८ महिनामा सरकारबाट बाहिरिनु भएको छ ।

जम्कट्टेल सरकारबाट एमाले साढे २ महिनामै बाहिरियो । १० चैत २०७९ मा मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धन सरकारका लागि विश्वासको मत लिएर सरकार टिकाउनु भयो ।

गत फागुन २० गते फेरि एमालेसँग माओवादीको केन्द्रीय सत्ता समीकरण बनेसँगै बागमतीमा एमाले चैत पहिलो साता सरकारमा गएको थियो । एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको सरकार गठन भएको हो । बागमतीमा अब कांग्रेस–एमाले गठबन्धन सरकार बन्नेछ ।