जनता टाइम्स

७ श्रावण २०८१, सोमबार ०९:०२

अमेरिकी राष्ट्रपति जो बाइडनले गरे राष्ट्रपतिको उम्मेदवारी त्यागेको घोषणा, कमला ह्यारिसलाई समर्थन


बासिङ्टन डिसी (अमेरिका) ,असार ७ । अमेरिकाका राष्ट्रपति जो बाइडनले आफू फेरि राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गर्नुभएको छ । आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागेर वाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सार्नुभएको छ ।

वाइडेनले डेमोक्र्याटिक पार्टीबाट ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार बनाउन समर्थन गर्ने घोषणा गर्नुभएको हो । ८१ वर्षीय बाइडनले आइतवार राती विज्ञप्ति जारी गर्दै ‘पार्टी र देशको हितका लागि’ आफूले पुनः राष्ट्रपति बन्ने योजना त्यागेको उल्लखे गर्नुभएको छ ।

यता उपराष्ट्रपति ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा मनोनीत हुन पाउँदा सम्मानित महसुस भएको बताउनु भएको छ । यद्यपी ह्यारिसलाई पार्टीले आधिकारिक रूपमा उम्मेदवार घोषणा गर्न भने बाँकी रहेको छ। अगस्टमा हुने डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनबाट राष्ट्रपतिको उम्मेदवार चयन गरिने कार्यतालिका रहेको छ।

बाइडनले विज्ञप्तिमा उम्मेदवारी त्याग्ने तर यो कार्यकाल भने पूरै राष्ट्रपतिका रुपमा काम गर्ने उल्लेख गर्नुभएको छ । ‘बाँकी कार्यकाल राष्ट्रपतिको भूमिकामा केन्द्रित हुनु नै म, मेरो पार्टी र मेरो देशको सर्वोत्तम हितमा हुने छ,’ बिज्ञप्तिमा वाइडेनले भन्नुभएको छ ।