जनता टाइम्स

७ श्रावण २०८१, सोमबार १२:३८

रबिलाई बिनोद चौधरीको चेतावनी : आफ्नो अपराध र बदमासी लुकाउन अरुमाथि दोष लगाउने घटिया हर्कत बन्द गर


विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानबिनको घेरामा रहेको व्यक्तिले जसरी हिजो संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरू केही होइन । विगतमा सत्ताको चरम दुरुपयोग गरेर प्रहरी प्रशासनलाई चर्को दवाव दिएर ममाथि जुन प्रतिसोध साध्न खोजिएको थियो, हिजोको उनको अभिव्यक्ति त्यही स्टन्टको मानसिकताको निरन्तरता मात्रै हो ।

काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नो अपराध र बदमासी ढाकछोप गर्न अरुमाथि दोष लगाउने जस्ता घटिया हर्कत नगर्न र राजनीतिक ‘स्टन्ट’ बन्द गर्न रास्वपाका सभापति रवि लामिछानेलाई चेतावनी दिनुभएको छ ।

चौधरीले आज बिहान सामाजिक सञ्जालमार्फत पूर्वगृहमन्त्रीसमेत रहनुभएका दोहोरो नागरिकता र पार्सपोर्टधारी रबिलाई यस्तो चेतावनी दिनुभएको हो । रबिले आइतबार संसदको रोष्टमबाटै अनुसन्धानमा रहेका व्यक्ति (चौधरी) बालकोट (प्रधानमन्त्री केपी ओलीको निजी निवास) मा गएर गीत गाएको भन्दै गम्भीर आक्षेप लगाउनु भएको थियो ।

चौधरीले लामिछानेको यो भनाईको कडा प्रतिवाद गर्नुभएको हो । ‘विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानबिनको घेरामा रहेको व्यक्तिले जसरी संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरू केही होइन’, चौधरीले भन्नुभएको छ ।

रबिले बिगतमा सत्ताको चरम दुरुपयोग गरेको भन्दै चौधरीले आफूमाथि लगाइएको आक्षेपको कडा निन्दा पनि गर्नुभएको छ । ‘विगतमा सत्ताको चरम दुरुपयोग गरेर प्रहरी प्रशासनलाई चर्को दवाव दिएर ममाथि जुन प्रतिसोध साध्न खोजिएको थियो, हिजोको उनको अभिव्यक्ति त्यही स्टन्टको मानसिकताको निरन्तरता मात्रै हो,’ चौधरीले लेख्नुभएको छ ।

चौधरीको भनाई जस्ताको तस्तै

प्रतिनिधिसभाको बैठकमा एक जना माननीयले मप्रति लक्षित गरेर जनतालाई दिग्भ्रमित पार्ने नियतले तथ्यहीन, अत्यन्तै नियोजित र कुण्ठापूर्ण अभिव्यक्ति दिएका छन् । जसकाप्रति मेरो घोर आपत्ति छ । विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानबिनको घेरामा रहेको व्यक्तिले जसरी हिजो संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरू केही होइन । विगतमा सत्ताको चरम दुरुपयोग गरेर प्रहरी प्रशासनलाई चर्को दवाव दिएर ममाथि जुन प्रतिसोध साध्न खोजिएको थियो, हिजोको उनको अभिव्यक्ति त्यही स्टन्टको मानसिकताको निरन्तरता मात्रै हो । अन्तर्राष्ट्रिय संगीत दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँको निवास बालकोटमा भएको कार्यक्रमलाई असान्दर्भिक रुपमा जसरी राजनीतिकरण गर्ने दुष्प्रयास गरिएको छ, त्यो अत्यन्तै निन्दनीय छ। संसद्को रोष्टमलाई कसैको कुण्ठा व्यक्त गर्ने र गलत नियतले अरूमाथि प्रहार गर्ने थलो नबनाउन पनि आग्रह गर्दछु ।