जनता टाइम्स

७ श्रावण २०८१, सोमबार १९:०९

न्यूरोडमा बालेनलाई झुकाएपछि गर्जिए वडाध्यक्ष चिनिकाजी


काठमाडौं, साउन ७ । काठमाडौं महानगरपालिकाले न्यूरोडमा थालेको फुटपाथ विस्तारको काम स्थगित भएसँगै वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले गौरवपुर्ण अनुभुति गरेको बताउनु भएको छ ।

काठमाडौं महानगरपालिकासँग सहमति भएपछि न्यूरोडमै आएर कोणसभालाई सम्बोधन गर्दै वडाध्यक्ष महर्जनले यस्तो अनुभूति सुनाउनु भएको हो । कोणसभामा वडाध्यक्ष महर्जनलाई स्थानीय जनताले ‘न्यूरोड आन्दोलनका नायक’ का रुपमा सम्बोधन गरेका थिए । सोही अनुसार उदघोषकले यस्तो सम्बोधन गर्नुभएको थियो ।

महर्जनले छोटो सम्बोधन गर्दै कसैको हार नभएको र जनताको जीत भएको बताउनु भयो । ‘लोकतन्त्रमा जनताले चाहेको कुरा नै हुन्छ भन्ने भाष्य स्थापित भयो, हामी सवैको जीत भयो, कसैको हार भएन,’ वडाध्यक्ष महर्जनले भन्नुभयो । वडाध्यक्ष महर्जन काठमाडौं महानगरका मेयर बालेन शाहले स्थानीयमाथि ज्याद्धती गर्न थालेको भन्दै मतदाताको नेतृत्व गरेर आफै सडकमा उत्रनुभएको थियो । महर्जन नेतृत्वको आन्दोलनसामू मेयर बालेन झकेपछि आज सभा गरिएको हो ।

सहमतिअनुसार २४ नम्बर वडामा फुटपाथ विस्तार भइसकेको हुँदा त्यहाँ पर्ने असरका बारेमा अध्ययन हुनेछ । २३ र २२ नम्बर वडामा सबै वस्तुस्थिति अध्ययन गरेपछि आउने निचोडका आधारमा अगाडि बढ्ने सहमति भएको छ । महानगरले फुटपाथ विस्तार सुरु गरेसँगै स्थानीय आन्दोलित बनेका थिए । उक्त आन्दोलनको नेतृत्व २२ नम्बर वडाका अध्यक्ष महर्जनले गर्नुभएको थियो । उहाँले हिजोबाट सडकमै टेबलकुर्सी राखेर वडाको काम थाल्नुभएको थियो ।

सहमतिसँगै न्यूरोडको फुटपाथ विस्तारको विवाद टुंगिएको छ । यो सहमतिअनुसार वडा नम्बर २४ को फुटपाथ विस्तार सम्पन्न गरिनेछ भने अरुतिर मंसिरसम्म रोकिने छ । मेयर, उपमेयर, प्रशासकीय प्रमुख र वडाध्यक्षहरूबीच सोमबार भएको वार्तामा वडा नम्बर २४ मा भएको फुटपाथ विस्तारलाई सम्पन्न गर्ने र यसले आर्थिक, समाजिक सांस्कृतिक र आवतजावतमा पार्ने प्रभावबारे अध्ययन गर्ने सहमति भएको हो ।

यो अध्ययन रिपोर्टका आधारमा वडा नम्बर २२ र २३ को फुटपाथबारे निर्णय हुनेछ । वडा नम्बर २२ र २३ मा विस्तार गर्न बाँकीको हकमा सबै वस्तुस्थिति अध्ययन गरेपछि आउने निचोडलाई आधार मानेर अगाडि बढाइने छ । अध्ययन समितिको नेतृत्व सहरी योजना आयोगका उपाध्यक्ष सुमनराज भण्डारीले गर्नुहुनेछ । वडा नम्बर २२, २३ र २४ का वडाध्यक्ष सदस्य हुनेछन् । वडा नम्बर २२ ले २ जना र २३र२४ वडाले एकएक जना विषयविज्ञ सदस्य दिनेछन् ।

निर्माण विभागका विभागीय प्रमुख सुरज शाक्य सदस्य सचिव रहने यो समितिले २ मंसिरमा प्रतिवेदन बुझाउनुपर्ने छ । समितिले प्रतिवेदन तयार पारेपछि स्थानीयबासीसँग छलफल गरिनेछ ।

यस्तो छ वडाध्यक्ष महर्जनको भनाइ

आज साँच्चै जनताको जीत भएको छ । जनता कहिल्यै हार्दैन भन्ने तथ्य स्थापित भएको छ । डेमोक्रेसीमा जनताले चाहेको र खोजेकोमात्रै हुनुपर्छ भन्ने भाष्य स्थापित भएको छ ।

सडकपेटीको सुधारका नाममा हाम्रो व्यापारिक केन्द्र न्यूरोडलाई नाकाबन्दी गर्ने उद्देश्यले सडकपेटी विस्तारको नाममा सडक खुम्च्याउने योजना ल्याइएको हो । अब २२ नम्बर वडाको क्षेत्रमा कार्यदल बनाएर अध्ययनपछि आउने प्रतिवेदनको सिफारिसअनुसार मात्रै काम हुने भएको छ । कुनै पनि कार्यअघि अध्ययन गर्नुपर्छ भन्ने हामीले भन्दै आएका थियौं । जनताको माग र आवश्यकतालाई मध्यनजर गरेरमात्र विकासको कार्य थालनी गर्नुपर्छ ।

न्यूरोडको जनतालाई घाउ हुँदाखेरि अहोरात्र खटिनुभएको अन्य वडाका साथीहरुलाई सम्पूर्ण न्यूरोडवासीका तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु । यो गुन सधैं सम्झिनेछौं । भोलिका दिनमा सम्झौता तोडमोड भयो या पालना भएन भने यहाँहरुलाई सम्झिनेछु । आन्दोलनमा सहभागी हुनुभएको सम्पूर्ण जनतामा पुनः एकपल्ट धन्यवाद ।