हेटौंडा, साउन ८ । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालयको भागबन्डा टुंगिएको छ । दुई दलबीच मन्त्रालय भागबण्डामा सहमति जुटेको हो ।
प्रदेशको १३ मन्त्रालयमध्ये कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ मन्त्रालय लिने सहमति बनेको हो ।
एमाले–कांग्रेस सहमति अनुसार आइतबार कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिं लामाले सरकारको नेतृत्व गर्ने गरी मुख्यमन्त्रीमा दाबी गर्ने कार्यक्रम रहेको थियो । बिहान १० बजे तय गरिएको कार्यक्रम अन्तिम समयमा रोकिएको थियो । दुई दलबीच मन्त्रालयको भागबन्डाको विषय नमिल्दा मुख्यमन्त्रीमा लामाको दाबीसमेत रोकिएको थियो ।
एमाले र कांग्रेसबीच मुख्यमन्त्री बाहेक ६/६ वा ५/७ मन्त्रालयको नेतृत्व लिने भन्ने विवाद भएको थियो । प्रदेशमा कुरा मिल्न नसकेपछि एमालेका सांसदहरु केन्द्र गुहारेका थिए । आइतबार राति केन्द्रबाट मुख्यमन्त्रीबाहेक ६/६ वटा मन्त्रालय लिने गरी सहमति गरेपछि एमालेका सांसदहरूलाई हेटौँडा फर्किएका थिए । सहमतिअनुसार एमालेले विगतमा लिएको ५ मन्त्रालय पाउने स्पष्ट भएको छ भने थप एक मन्त्रालयमा अझै कुरा मिल्न सकेको छैन ।
कांग्रेसले विगतमा माओवादीसहित अन्य दल सम्हाल्दै आएको मन्त्रालय पाउने भएको छ । सहमतिअनुसार एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय लिनेछ भने कांग्रेसले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय विकास मन्त्रालय लिनेछ ।
दुई दलबीच २ वटा मन्त्रालयको विषयलाई लिएर सहमति जुट्न सकेको छैन । दुई दलबीच युवा तथा खेलकुद मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कसले कुन लिने भन्ने विषयमा सहमति हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्