जनता टाइम्स

९ श्रावण २०८१, बुधबार १०:१४

मापदण्ड नपुगेका २५० म्यानपावरको लाइसेन्स नवीकरण गर्ने श्रममन्त्री भण्डारीको योजना


काठमाडौं, साउन ९ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले एक जना कामदार बैदेशकि रोजगारीमा नपठाउने म्यानपावर कम्पनीको इजाजतपत्र (लाइसेन्स) नविकरण गर्ने जानकारी दिनुभएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संघका पदाधिकारीहरुसँगको छलफलमा श्रममन्त्री भण्डारीले तोकिएको कोटा पठाउन नसकेर लाइसेन्स नविकरण नभएका म्यानपावरको लाइसेन्स नवीकरण गरिदिने योजना सुनाउनु भएको हो ।

मन्त्री भणडरीले इजाजत नवीकरणका लागि वाधा अड्काउ फुकाउ सम्वन्धी निर्णय गरिने बताउनु भएको संघका अध्यक्ष राजेन्द भण्डारी र महासचिव मेघनाथ भुर्तेलले जानकारी दिनुभयो ।

यसअघि गत असार २७ गते बसेको मन्त्रिपरिषद बैठकमा तात्कालिन श्रममन्त्री डीपी अर्यालले म्याद थपका लागि प्रस्ताव लगेपनि आर्थिक लेनदेनको आधारमा निर्णय गर्न लागेको तथ्य खुलेपछि रोकिएको थियो ।

असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट बिश्वासको मत पाउन नसकी पदमुक्त भएपछि मन्त्री अर्यालको लाइसेन्स नविकरण गरी आर्थिक जोहो गर्ने खेल सकिएको थियो । जाने बेला म्याद थपेर कमाउने मन्त्री अर्यालको योजना जनताटाइम्स डटकमले सार्वजनिक गरेपछि बैनासमेत फिर्ता गर्नुपरेको थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपाली कांग्रेस र नेकपा एमालेसहितको नयाँ सरकार गठनभएसँगै मन्त्री भण्डारीले लाइसेन्स नवीकरण गर्ने योजना अघि सार्नुभएको हो ।

संघका महासचिव भुर्तेलका अनुसार ‘बार्षिक एकसय जना कामदार पठाउन नसकी इजाजतपत्र नविकरण हुन नसकेका व्यवसायीको लाइसेन्स नवीकरण नगर्ने प्रावधानको बिषय औचित्य नभएको कारण खारेजीका लागि संसदमा विधेयक दर्ता गराइसकिएको हुँदा आवश्यक प्रक्रिया पूरा गरी इजाजत नवीकरणका लागि वाधा अड्काउ फुकाउ सम्वन्धी निर्णय गरिने जानकारी दिनुभएको छ ।

संघका पदाधिकारी तथा सल्लाहकारहरुले मन्त्रालयमा भेटेर बधाई तथा शुभकामनादिने क्रममा नै नवीकरणको समस्या राखेपछि मन्त्री भण्डारीले नविकरण गर्ने बताउनु भएको हो ।

‘माननीय मन्त्रीज्यूबाट बार्षिक एकसय जना कामदार पठाउन नसकि इजाजतपत्र नविकरण हुन नसकेका इजाजतपत्रवाला व्यवसायीहरुका सम्बन्धमा यो बिषय औचित्य नभएको भनी खारेजीका लागि संसदमा विधेयक दर्ता गराएको हुँदा आवश्यक प्रक्रिया पूरा गरी इजाजत नविकरणका लागि वाधा अड्काउ फुकाउ सम्वन्धी निर्णय गरिने भएकाले निश्चिन्त भइ इजाजतपत्र नविकरण नभएका व्यवसायी हरुलाइ धैर्य धारण गरी केही समय प्रतीक्षा गर्न अनुरोध गर्नुभएको सम्पुर्ण व्यवसायीज्यूहरुलाइ जानकारी गराउँदछौं,’ मन्त्रीसँगको भेटबारे जानकारी दिँदै महासचिव मेघनाथ भुर्तेलले भन्नुभएको छ ।

लाइसेन्स नवीकरणका लागि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख मुख्य सल्लाहकार विष्णु रिमाललाई भेटेर ध्यानाकर्षण गराएको थियो । मञ्चले नवकरण हुन नसकेका म्यानपावरको संख्या सयसहित समग्र वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याबारे जानकारी गराएको छ ।

लिखित सुझावसहित गएको प्रतिनिधिमण्डलले सय संख्याको बाध्यकारी प्रावधानका कारण व्यवसायीको इजाजतपत्र नवीकरण हुन नसकेकाले उनीहरू संविधान प्रदत्त पेशा व्यवसायको अधिकारबाट वञ्चित भएको विषयमा पनि ध्यानाकर्षण गराएको छ ।