रूपन्देही, साउन ९ । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले राजीनामा दिनुभएको छ । दलका नेता गिरीले आज पदबाट राजीनामा दिएको सार्वजनिक जानकारी गराउनु भएको हो ।
आफूले मंगलबार नै पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामा पठाएपनि मुख्यमन्त्रीले सपथलिएपछि मात्र राजीनामाको औपचारिक जानकारी दिन भन्दै सार्वजनिक नगरी बसेको बताउनु भयो । नेता गिरीले पार्टी अध्यक्ष ओलीलाई राजीनामा पठाएको र राजीनामा स्वीकृत भएको जानकारी आफुले नपाएको बताउनु भयो ।
‘मैले अध्यक्ष कमरेडलाई राजीनामा पठाइसकेको छु, अध्यक्षले स्वीकृत गर्नुभएको बारे जानकारी छैन, मलाई केही भन्नुभएको पनि छैन,’ गिरीले भन्नुभयो । मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएको बताउनु भएको छ । मुख्यमन्त्री नियुक्तिबारे पार्टीको कुनै कमिटी बैठकबाट निर्णय नगरी सिधै केन्द्रीय निर्देशन आएको भन्दै गिरीले आपत्ति जनाउनु भएको छ ।
एमाले महासचिव शंकर पोखरेलले एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेललाई फोन गरेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्तका लागि सिफारिस गर्न निर्देशन दिनुभएको थियो । पोखरेलको निर्देशनपछि दलका नेतालाई बाहिर राखेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाइएको छ । आचार्यले आज पद तथा गोपनीयता शपथ लिई कार्यभार सम्हाल्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्