काठमाडौं, साउन ९ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एन एएमई जहाजमा सवारमध्ये ४ जनाको शव निकालिएको छ । दुर्घटनास्थलबाट उद्धारकर्ताहरुले ४ जनाको शव निकालेका हुन भने केहीलाई उद्धार गरेर अस्पताल लगिएको छ ।
नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जहाज पोखराका लागि उडेको जानकारी दिनुभयो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको अधिकारीहरुले बताएका छन् ।
जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको जानकारी दिए ।
जहाज उड्नेबित्तिकै तुरुन्तै क्रास भएको पाइएको छ । दुर्घटनालगत्तै विमानस्थलको आन्तरिकतर्फ ठूलो धुँवाको मुस्लो देखिएको छ । विमानमा सवारहरुको अवस्था अहिलेसम्म जानकारी प्राप्त हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्