काठमाडौँ । सुन तस्करीमा संलग्न आरोपमा पक्राउ परेका गणेशदत्त बडूविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
सरकारी वकिलसँग राय लिएर सुन तस्कर बडूसहितका आरोपीहरू विरुद्ध मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो । ४७ वर्षका बडू दार्चुलाको महाकाली नगरपालिका–३ का स्थानीय हुन । न्यूरोडस्थित इन्द्रचोकमा बसेर बडूले दैनिक ३ करोडसम्मको सुन कारोबार गरेको विभागको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले गत वैशाख १३ गते न्यूरोडस्थित इन्द्रचोकबाट बडूसहित ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा एक जना १४ वर्षीय बालक पनि छन् । बडू असनमा डेरामा बस्थे । डेरामा बसेर उनले दैनिक ३ करोडसम्म सुनको कारोबार गरेको बरामद डायरीमा राखेको हिसाबबाट पुष्टि भएको अनुसन्धानमा संलग्न राजस्वका अधिकारीहरुले बताएका छन । सुन दिएर पैसा लिँदै गरेको अवस्थामा बडु पक्राउ परेका हुन् । डेराबाट प्रहरीले करिब ३ केजी सुन र १ करोड ४३ लाख ६० हजार नगद बरामद गरेको थियो ।
विभागले यसअघि नै बडूलाई थुनामा राखेर अरुलाई हाजिर जमानीमा तारेखमा रिहा गरेको थियो । बालकलाई भक्तपुरस्थित बाल सुधार गृहमा संरक्षणमा राखिएको छ । विभागले बडूसहित भारतीय नागरिक अमोल विभूते, १८ वर्षका ऋषिकेश प्रकाश विभूते र १८ वर्षीय गणेश सतिश बाल्टे, नेपाली नागरिक दिनेश खरेल, २१ वर्षका आयुष बडू र झापा बिर्तामोड घर भएका २२ वर्षीय भरतराज खरेललाई प्रतिवादी बनाएको छ ।
भरतराज खरेल बडूका सालीका छोरा हुन । उनीहरु विरुद्ध राजस्व चुहावट छली, अवैध सुन र नगद समेतमा मुद्दा दायर गरिएको छ । बडूविरुद्ध ३ करोड ५० लाख बिगो र बिगोअनुसार जरिवाना गर्न विभागले मागदावी लिएको छ । अकुत सम्पत्ति सम्बन्धी मुद्दामा विभागले उनी विरुद्ध छुट्टै मुद्दा लैजाने भएको छ ।
यसअघि पनि तस्करीमै समातिएका थिए बडू
गणेश दत्त बडू यसअघि सुन तस्करीमा पक्राउ परेका थिए । उनी क्षेत्रपाटीबाट २०७४ भदौ १९ मा बरामद ८८ किलो सुन प्रकरणमा जेल बसेर छुटेको अपराध रेकर्ड भेटिएको छ । उनी पुनः सुन तस्करीकै आरोपमा दोस्रो मुद्दा खेप्दै छन् ।
८८ किलो सुन प्रकरणमा उनी ३ लाख धरौटी बुझाएर छुटेका थिए । तर, उनले धन्दा छाडेनन् । चिनियाँ सुन तस्करको ‘एजेन्ट’ बनेर सुन तस्करी गरेको सुराकको आधारमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
चिनियाँ नागरिकले पठाउने सुन गणेशदत्तले ‘वितरण’को जिम्मा लिने गरेको प्रहरी अनुसन्धान निष्कर्ष छ । बडूलाई चिनियाँ नागरिकले एक पटकमा डेढ देखि २ केजी सम्म सुन बेच्ने जिम्मा दिने गरेका थिए । चिनियाँ सुन तस्करले पठाउने सुन न्यूरोडमा टुक्रा बनाइन्छ । २५० ग्रामको टुक्रा बनाएर भारतीय नागरिकहरूले पैदल मार्ग हुँदै भारततर्फ लैजाने गरेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्