जनता टाइम्स

११ श्रावण २०८१, शुक्रबार १८:५६

मौद्रिक नीतिले निजी क्षेत्र उत्साहित, लगानीका लागि बातावरण बन्ने महासंघ अध्यक्ष ढकालको निश्कर्ष


काठमाडौं, साउन ११ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएसनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीति सकारात्मक रहेको बताउनु भएको छ ।

नेपाल राष्ट्र बैंकले कर्जा बिस्तारलाई सहज बनाउने गरी सकारात्मक मौद्रिक नीति ल्याएको अध्यक्ष ढकालले बताउनु भयो । राष्ट्र बैंकले आज चालू आवको मौद्रिक नीति सार्वजनिक गरेको हो । सो नीतिलाई निजी क्षेत्रले सकारात्मक रहेको बताएको हो ।

शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२को मौद्रिक नीति सार्वजनिक ढकालले भन्नुभयो, ‘मौद्रिक नीति सकारात्मक पाएको छु ।’ अध्यक्ष ढकालले १२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा बिस्तार गर्ने लक्ष्य सकारात्मक रहेको बताउनु भयो । यस्तै निर्माण व्यवसायीहरूको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको भन्दै स्वागत गर्नुभयो ।

ढकालले बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म बनाउनु बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिने ऋणहरूको लागि सहजीकरण गर्नु राम्रो पक्ष भएको बताउनु भयो । यस्तै विदेशी विनिमय सञ्चिति ७ महिनाको आयात धान्न सक्ने लक्ष्य राखेको उहाँको भनाइ छ । ढकालले समग्रमा मौद्रिक नीति बैंकहरुको कर्जा बिस्तार गराउने र माग बढाउन सहयोग पुग्ने देखिएको बताउनु भयो ।

निजी क्षेत्रले उठाउँदै आएको चालु पुँजीकर्जा मार्गनिर्देशन परिमार्जन गरिने व्यवस्था गर्नु सकारात्मक पक्ष रहेको भन्दै अध्यक्ष ढकालले शेयर बजारमा संस्थागत कर्जाको सीमा खारेजले लगानीको वातावरण बनेको निश्कर्ष सुनाउनु भयो । अध्यक्ष ढकालले निर्माण क्षेत्रको समस्याले समग्र अर्थतन्त्रमा असर समाधान गर्न मौद्रिक नीतिले सहजीकरण गरेकाले केही हदसम्म भए पनि निजी क्षेत्रको आत्मबल बढ्ने विश्वास ब्यक्त गर्नुभयो ।

यसैगरी मौद्रिक नीतिले महासंघले दिएका सुझावलाई थोरै भए पनि सम्बोधन गर्न खोजेको देखिएको बताउनु भयो । मौद्रिक नीतिमा व्यवस्था भएका व्यवस्थाहरू सर्कुलरमा त्यही अनुसार आउन आवश्यक रहेको सुझाव पनि ढकालले दिनुभयो । अस्थिर सरकार र नीतिको कारण निजी क्षेत्रको मनोबल कमजोर भएको भन्दै मौद्रिक नीतिले गरेका व्यवस्थाले थोरै मनोबल माथि उठ्न मद्दत पुग्ने ढकालले बताउनु भयो ।